भदौ पहिलो सातादेखि कारोबार सुरु भएको अलैँचीको बजार मूल्य निरन्तर ओरालो लागेको छ । नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य ह्वात्तै ओरालो लागेको हो ।
एकै दिनमा एक हजारका दरले मूल्य घटेको ताप्लेजुङका अलैँची व्यावसायी कमल बरालले जानकारी दिए । ताप्लेजुङमा प्रतिमन (४० किलोग्राम) ८३ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार एक हजार रुपैयाँ मूल्य घढेर ८२ हजार रुपैयाँमा कारोबार छ ।
अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार भदौको पहिलो साता फुङ्लिङ बजारमा प्रतिमन ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। दोस्रो सातासम्म सोही मूल्यमा कारोबार भए पनि त्यसपछि मूल्य निरन्तर घट्न थालेको हो।
भदौ तेस्रो सातापछि अलैँचीको मूल्य घटेर प्रतिमन ८३ हजार रुपैयाँसम्म पुगेको रेग्मीले बताए। त्यसपछि पछिल्ला चार–पाँच दिनमा करिब २ हजार रुपैयाँले सुधार हुँदै प्रतिमन ८५ हजार रुपैयाँसम्म पुगेको थियो। तर बिहीबार पुनः घटेर ताप्लेजुङमा ८२ हजार रुपैयाँमा कारोबार भएको व्यवसायी बरालले बताए।
अन्तर्राष्ट्रिय माग कमजोर हुँदा दबाब
रेग्मीका अनुसार अन्तर्राष्ट्रिय बजारबाट अलैँचीको माग कमजोर रहेकाले मूल्यमा दबाब परेको हो। अन्तर्राष्ट्रिय माग नबढे पनि स्थानीय व्यापारीले गत वर्षको मूल्यलाई आधार मानेर हालको कारोबार मूल्य निर्धारण गरिरहेका छन्।
गत वर्ष नयाँ अलैँची बजारमा आउँदा प्रतिमन करिब ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। मुख्य कारोबार हुने समयमा भने यसको मूल्य बढेर प्रतिमन १ लाख ५ हजार रुपैयाँभन्दा माथि पुगेको थियो।
यस वर्ष नयाँ फसल सुरु हुँदा भने अलैँचीले गत वर्षको तुलनामा सुरुवाती चरणमै प्रतिमन करिब १४ हजार रुपैयाँ बढी मूल्य पाएको व्यवसायी संघका अध्यक्ष रेग्मीले बताए।
दसैँ–तिहारमा मूल्य बढ्ने अपेक्षा
अलैँचीको मुख्य कारोबार हुने समय असोज र कात्तिक महिना हो। दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गएको र अन्तर्राष्ट्रिय बजारबाट माग बढेमा मूल्यमा सुधार आउन सक्ने व्यवसायीहरूको अपेक्षा छ।
स्थानीय किसान तथा व्यवसायीले यस वर्ष पनि अलैँचीको मूल्य प्रतिमन १ लाख रुपैयाँभन्दा माथि पुग्ने अपेक्षा गरेका छन्। तर पछिल्ला दिनमा मूल्य लगातार घट्न थालेपछि किसान भने चिन्तित हुन थालेका छन्।
प्रतिक्रिया दिनुहोस