पछिल्लो समय युवा वैदेशिक रोजगारी, अध्ययनलगायतका कारण गाउँ तथा स्थानीय क्षेत्रबाट बाहिरिने क्रम बढिरहेका बेला पाल्पाका केही युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन्।
तानसेन नगरपालिका–७, प्रभासका रामजी ढुङ्गाना, लक्ष्मण ढुङ्गाना र विराज ढुङ्गानाले करिब २ करोड रुपैयाँ लगानीमा ‘सिएन पिउने पानी उद्योग’ सञ्चालनमा ल्याएका हुन्। स्थानीय बजारमा पिउने पानीको माग बढ्दै गएको र सञ्चालनमा रहेका उद्योगबाट मागअनुसार पर्याप्त आपूर्ति हुन नसकेको अवस्थालाई ध्यानमा राखेर उद्योग स्थापना गरिएको सञ्चालक विराज ढुङ्गानाले बताए।
उद्योगले प्रारम्भिक चरणमा एक हजार मिलिलिटर, ५०० मिलिलिटर र ३०० मिलिलिटर क्षमताका प्रशोधित बोतलको पानी बजारमा ल्याउने तयारी गरेको छ। उपभोक्ताको स्वास्थ्य र बजारको मागलाई प्राथमिकतामा राखेर उद्योग सञ्चालन गर्न लागिएको सञ्चालक ढुङ्गानाले जानकारी दिए।
आफ्नो माता नारायणी ढुङ्गाना र स्वर्गीय पिता चिरञ्जीवी ढुङ्गानाको स्मृतिमा उद्योग स्थापना गरिएको सञ्चालकहरूले बताएका छन्। सोही कारण उद्योगको नाम ‘सिएन पिउने पानी उद्योग’ राखिएको उनीहरूको भनाइ छ।
पछिल्लो समय तानसेनमा व्यापार तथा व्यवसायको गतिविधि केही सुस्ताउँदै गएको अवस्थामा स्थानीय युवाले ठूलो लगानीसहित उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याउनुलाई सकारात्मक रूपमा लिइएको तानसेन नगरपालिका–७ का वडाध्यक्ष प्रदीप खनालले बताए।
उनका अनुसार उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै उपभोक्तालाई शुद्ध पिउने पानीको सहज आपूर्तिमा समेत योगदान पुर्याउनेछ।
प्रभासमा बढ्दै आर्थिक गतिविधि
वडाध्यक्ष खनालका अनुसार प्रभास क्षेत्र पछिल्लो समय तीव्र विकासको क्रममा अघि बढिरहेको छ। पिउने पानी उद्योगसँगै दुग्ध प्रशोधन, लुम्बिनी मेडिकल कलेज तथा निजी विद्यालयलगायतका संस्था सञ्चालनमा आएपछि यस क्षेत्रमा आर्थिक तथा सामाजिक गतिविधि विस्तार हुँदै गएको उनको भनाइ छ।
‘प्रभासमा विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै जाँदा यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा ठूलो सहयोग पुगेको छ,’ खनालले भने, ‘व्यापारिक क्षेत्रमा आएको उतारचढावका बीच उत्पादनमूलक क्षेत्रमा लगानी बढ्दै गए तानसेनको आर्थिक गतिविधिले नयाँ आधार पाउन सक्छ।’
तानसेन नगरपालिका–७ प्रभास पछिल्लो समय शिक्षा, स्वास्थ्य र व्यवसायिक गतिविधिको केन्द्रका रूपमा विस्तार हुँदै गएको स्थानीयको बुझाइ छ। मुख्य बजार क्षेत्रभन्दा बाहिर पनि उद्योग तथा विभिन्न संस्थाहरू स्थापना हुन थालेपछि प्रभासमा आर्थिक गतिविधि बढ्दै गएको पत्रकार भरत शर्माले बताए।
उनका अनुसार कुनै क्षेत्रमा नयाँ उद्योग तथा व्यवसाय स्थापना हुनु त्यस क्षेत्रको आर्थिक गतिविधि विस्तारको एउटा संकेत हो। उद्योग तथा व्यवसाय थपिँदा रोजगारीका अवसर सिर्जना हुनुका साथै स्थानीयस्तरमा वस्तु तथा सेवाको माग बढ्ने र आर्थिक गतिविधि चलायमान हुने उनले बताए।
‘प्रभास क्षेत्रमा पछिल्लो समय विभिन्न क्षेत्रका उद्योग तथा संस्थाहरू थपिँदै गएका छन्। यसले यस क्षेत्रको विकास र विस्तारमा सकारात्मक प्रभाव पार्दै गएको छ,’ शर्माले भने।
सुस्त व्यापारबीच उत्पादनमूलक लगानी
तानसेन नेपालको पुरानो व्यापारिक तथा प्रशासनिक केन्द्रका रूपमा परिचित भए पनि पछिल्लो समय यहाँको व्यापार व्यवसायमा केही कमी आएको व्यवसायीहरूको गुनासो छ। बजारमा ग्राहकको चहलपहल घट्नु, नयाँ व्यापारिक केन्द्रहरू विकास हुनु तथा उपभोक्ताको खर्च गर्ने शैलीमा आएको परिवर्तनले परम्परागत व्यापारिक गतिविधिमा प्रभाव परेको व्यवसायीहरूको भनाइ छ।
यस्तो अवस्थामा स्थानीय युवाले उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी गरेर नयाँ उद्योग स्थापना गर्नुले स्थानीय अर्थतन्त्रमा नयाँ गतिविधि थप्ने अपेक्षा गरिएको छ।
‘सिएन समूह’ले यसअघि यातायात क्षेत्रमा लगानी गरिसकेको छ। व्यावसायिक गतिविधिसँगै समूहले विभिन्न सार्वजनिक स्थानमा चौपारी निर्माणलगायत सामाजिक तथा परोपकारी काममा समेत योगदान गर्दै आएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस