सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु गरेको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो।
नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो, सहज र सेवामुखी बनाउने विभागले जनाएको छ। ईडीएलभीआरएसमा अपलोड भएको सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यसले लाइसेन्स छपाइ तथा वितरणमा लामो समयदेखि देखिँदै आएको समस्या समाधान हुने मन्त्रालयको दाबी छ।
नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोहीअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।
त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ।
प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने सेवाग्राहीको चाप र समस्यालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।
नयाँ प्रणाली लागू भएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस