नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पत्रकारले प्रश्न गर्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर अनुमति लिने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत त्यसबारे जानकारी गराउने अभ्यास रहेको दाबी गरे।
ओलीले सञ्चारकर्मीहरूलाई अनुमति नलिई माइक अगाडि ल्याएर प्रश्न नगर्न आग्रह गरे। उनले भने, ‘तपाईंहरू ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्।’
उनका अनुसार पत्रकारले प्रश्न सोधेपछि त्यसलाई प्रकाशित गर्नुअघि सम्बन्धित व्यक्तिलाई आफूले भनेको कुरा प्रकाशित गर्न लागिएको जानकारी गराउनुपर्ने हुन्छ।
ओलीले पत्रकारितामा मर्यादा र व्यावसायिक अभ्यास कायम गर्नुपर्नेमा जोड दिँदै सञ्चारकर्मीहरूलाई प्रश्न गर्ने शैलीमा समेत ध्यान दिन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस