२०८३, कार्तिक २६ गते

अविरल वर्षापछि हालसम्म १२ जनाको मृत्यु, ७ जना सम्पर्कविहीन

आइतवार , आश्विन ११, २०८३

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको हो।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज ८ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। यस्तै, ७ जना अझै सम्पर्कविहीन छन्। पाल्पामा एक, बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता रहेका छन्।

मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा सम्भावित जोखिमबारे पूर्वानुमान गरेपछि सोही आधारमा विपद् व्यवस्थापनको तयारी गरिएको प्राधिकरणले जनाएको छ। जोखिमका आधारमा रेड, एम्बर र यलो अलर्ट जारी भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि टोली परिचालन गरिएको छ।

विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना रहेकाले पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ। जोखिमलाई ध्यानमा राख्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने निकायसँग निरन्तर समन्वय भइरहेको छ।

१ हजारभन्दा बढी सुरक्षित स्थानमा
प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको जोखिम बढेको छ। पर्वतमा केही घर बाढीले बगाएको छ। यद्यपि, जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारिएकाले थप मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता महतले बताइन्।

नवलपरासी क्षेत्रमा मात्रै १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको छ।

उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ।

प्राधिकरणका अनुसार आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्नुका साथै बाढी र पहिरोको जोखिम कायमै छ। नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images