नेपाल राष्ट्र बैंकले ३० करोड थान दुई रुपैयाँ अंकित मूल्यका चलनचल्तीका सिक्का छपाइ, आपूर्ति तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक चरणअन्तर्गत बोलपत्र माग गरेको हो। छनोट हुने कम्पनीले डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीसहितको जिम्मेवारी पूरा गर्नुपर्नेछ।
बैंकका अनुसार पूर्वयोग्य बोलपत्रदाताले बोलपत्रसम्बन्धी कागजात कात्तिक १७ गतेसम्म कार्यालय समयमा खरिद गर्न सक्नेछन्। बोलपत्रसम्बन्धी पूर्वबैठक असोज ३० गते दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुनेछ।
बोलपत्र कात्तिक १८ गते दिउँसो १२ बजेसम्म पेस गर्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्रमा सहभागी कम्पनीले न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ।
राष्ट्र बैंकले बोलपत्र पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने अधिकार आफूमा सुरक्षित रहेको जनाएको छ। सम्झौता हुने कम्पनीले तोकिएको मापदण्डअनुसार ३० करोड थान दुई रुपैयाँका सिक्का उत्पादन गरी राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्नेछ।
प्रतिक्रिया दिनुहोस