काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। करिब ६ किलोमिटर लामो उक्त प्रसारण लाइन शुक्रबारदेखि चार्ज गरिने भएको छ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्ड चार्ज भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत् प्रवाह हुनेछ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन सञ्चालनमा आएपछि काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न थप सहज हुने बताए।
उनका अनुसार चोभार सबस्टेसनदेखि पाटनसम्मको करिब साढे ४ किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।
आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले गत असोज ८ गते मातातीर्थ–चोभार प्रसारण लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। त्यसका लागि चोभार सबस्टेसनमा दुईवटा वे निर्माण गरिएको छ।
चोभार सबस्टेसनमा स्थानीय विद्युत् आपूर्तिका लागि ११ केभीका नौवटा फिडर रहेका छन्। सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति गर्न सकिनेछ। यसबाट ती क्षेत्रमा भोल्टेज सुधार हुनुका साथै विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।
हाल त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसनमार्फत काठमाडौं उपत्यकामा आपूर्ति हुँदै आएको छ। मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपछि उपत्यकाको विद्युत् आपूर्ति प्रणालीमा थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ।
यसैगरी, चोभार सबस्टेसनदेखि चक्रपथ हुँदै ललितपुरको लगनखेल (पाटन) सबस्टेसनसम्म करिब साढे ४ किलोमिटर भूमिगत १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। पाटन सबस्टेसनलाई समेत १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।
नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा आर्थिक वर्ष २०५५/५६ देखि सुरु भएको थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौं र भक्तपुरतर्फको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ।
तर ललितपुरतर्फ खोकना, बुंगमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि उक्त खण्डको निर्माण अघि बढ्न सकेको छैन। यसका कारण काठमाडौं उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना प्रभावित हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस