२०८३, आश्विन २२ गते

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी घोषणा

मंगलवार , आश्विन २०, २०८३

उद्योगी एवं नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै महाधिवेशन प्रतिनिधिलाई शुभकामना दिँदै आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

देशले अहिले युवा नेतृत्व खोजिरहेको उल्लेख गर्दै चौधरीले महाधिवेशनबाट नेपाली कांग्रेसले युवालाई नेतृत्वमा स्थापित गर्नुपर्ने बताएका छन्। आर्थिक समुन्नतिको स्पष्ट दृष्टिकोण भएका नेताहरूलाई नेतृत्व तहमा पुर्‍याएर मुलुकको आर्थिक रूपान्तरणमा नयाँ अध्याय सुरु गर्नुपर्नेमा उनले जोड दिएका छन्।

युवा नेतृत्व स्थापित गर्दै जनअपेक्षाअनुसारको कांग्रेस निर्माण गर्ने उद्देश्यले आफू महाधिवेशनमा सहभागी भएको चौधरीले बताएका छन्। नेपालले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गरे पनि आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको गति अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै अब आर्थिक रूपान्तरणमा ढिलाइ गर्न नहुने उनको भनाइ छ।

चौधरीले कांग्रेस सभापति गगन थापासँग आर्थिक रूपान्तरण र विकासका एजेन्डामा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरेका छन्।

उनले २०४८ देखि २०५१ सालसम्म कांग्रेस नेतृत्वमा अघि बढाइएको आर्थिक सुधारलाई ऐतिहासिक र दूरगामी महत्त्वको भन्दै उदारीकरण, निजी क्षेत्रको विस्तार तथा आर्थिक सुधारमा तत्कालीन नेतृत्वको योगदानको स्मरण गरेका छन्।

विगतका उपलब्धि र सीमाबाट पाठ सिक्दै नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी आर्थिक नीतिका साथ अघि बढ्नुपर्ने चौधरीको धारणा छ। राजनीतिक नेतृत्वको दूरदृष्टि र त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्ने आर्थिक विज्ञ तथा नीति निर्माताबीच बलियो सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई आर्थिक विकासका एजेन्डालाई राजनीतिको केन्द्रमा पुर्‍याउन, युवाका आकांक्षा सम्बोधन गर्न तथा कांग्रेसलाई नयाँ पुस्तासँग जोड्न केन्द्रित रहेको चौधरीले बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिसँग सहयोग र मतका लागि अपिलसमेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!