नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी निर्माणमा योगदान गरेका नेताहरू १५औँ महाधिवेशनको मञ्चमा उपस्थित नहुँदा आफूलाई नमिठो लागेको बताएका छन्।
१५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले निवर्तमान सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको निर्माण र विकासमा गरेको लामो योगदान तथा संघर्षको स्मरण गरे।
उनले देउवासहित पार्टीका अन्य नेताहरूले पार्टी निर्माणमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनीहरू महाधिवेशनको मञ्चमा हुनुपर्ने आफ्नो धारणा राखे।
‘निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो जीवनकालमा नेपाली कांग्रेसमा लामो समय योगदान गर्नुभएको छ, संघर्ष गर्नुभएको छ। पार्टी निर्माणमा यति ठूलो योगदान गर्नुभएको छ,’ थापाले भने, ‘त्यसकारण हामीलाई मिठो लागिरहेको छैन। आज यो मञ्चमा हाम्रा दाइहरू पनि हुनुपर्थ्यो भन्ने हामीलाई लाग्छ।’
थापाले पार्टीको इतिहास र निर्माणमा योगदान दिएका अग्रज नेताहरूको योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस