नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ।
कांग्रेसको आगामी नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्ने भएका छन्।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि वर्षा तथा केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी मतदान सुरु गर्न लागिएको हो।
प्रतिनिधिको सहजताका लागि काठमाडौंका राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा गरी सात वटा मतदान केन्द्र तोकिएको छ। प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।
राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्।
मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित प्रतिनिधिले तोकिएको मतदान केन्द्रबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
प्रतिक्रिया दिनुहोस