नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधारका लागि कानुन संशोधन मात्र पर्याप्त नभएको बताएका छन् । उनले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै आवश्यक कानुनी सुधारलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श’ विषयक तीन दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै ढकालले आर्थिक सुधारका लागि तयार पारिएका सुझावहरू कार्यान्वयन गर्न सके स्वदेशी तथा विदेशी लगानी बढ्ने बताए । लगानी बढेसँगै रोजगारी सिर्जना र राजस्व वृद्धि गर्नसमेत सहयोग पुग्ने उनको भनाइ छ ।
महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवर्द्धनसम्बन्धी कानुनहरू पुराना र परम्परागत रहेको भन्दै आफूहरूले उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र गठन गर्न प्रस्ताव गरेको उनले स्मरण गरे । सोही पहलका आधारमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको र आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको उनले बताए ।
कतिपय नयाँ कानुन निर्माण भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा ढकालले चिन्ता व्यक्त गरे । राम्रो कानुन बने पनि कार्यान्वयन कमजोर हुँदा लगानीको वातावरणमा प्रतिकूल असर परेको उनको भनाइ छ ।
सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरेका सय बुँदे निर्णयमध्ये अधिकांश निजी क्षेत्रले दिएका सुझावका आधारमा आएको भए पनि धेरै निर्णय अझै कार्यान्वयनमा जान नसकेको उनले बताए ।
ढकालले नेपालमा लगानी बढाउन, रोजगारी सिर्जना गर्न र आर्थिक गतिविधि विस्तार गर्न निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए । विदेशी लगानीकर्तालाई आकर्षित गर्न पनि पहिले स्वदेशी लगानीकर्ताका लागि सहज वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
हालै प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको भेटमा समेत आफूले विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र सुधारका विषयमा सुझाव दिएको उल्लेख गर्दै ढकालले अब ती सुझावलाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताए । आवश्यक परे अध्यादेशमार्फत भए पनि कानुनी सुधारको प्रक्रिया छिटो अघि बढाउन उनले सरकारसँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस