हालैको विनाशकारी बाढीपहिरोबाट पाठ सिक्दै सडक विभागले सडक तथा पुल निर्माणको मापदण्ड र डिजाइनमा व्यापक परिवर्तन गर्ने भएको छ । विभागले अब नदीको बीचमा पिलर नराखी लामा (लङ स्पान) र अग्ला पुल निर्माण गर्ने नीति अघि सारेको छ ।
नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘बाढी, पहिरोले सडक पूर्वाधारमा गरेको क्षति र अबको पुनर्निर्माण’ विषयक कार्यक्रममा बोल्दै सडक विभागका महानिर्देशक डा.विजय जैसीले पछिल्लो बाढीपहिरोले नेपालको इन्जिनियरिङका लागि नयाँ पाठ सिकाएको बताए ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै जैसीले विगतमा विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले ‘क्लाइमेट रेजिलेन्ट डिजाइन’ अर्थात् जलवायु अनुकूलन डिजाइनमा जोड दिए पनि नेपालले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताए । तर पछिल्ला विपद्का घटनाले अब यस्तो डिजाइन अनिवार्य बनाएको उनको भनाइ छ ।
उनका अनुसार विगतमा पुल डिजाइन गर्दा १०० वर्षको बाढी चक्रलाई आधार मान्ने गरिएको थियो । तर १०० वर्षको बाढी भोलि नै आउन सक्ने भएकाले महत्त्वपूर्ण पुलहरूको डिजाइन मापदण्ड पुनरावलोकन गर्नुपर्ने अवस्था आएको उनले बताए ।
‘अब पुल र पानीको सतहबीचको उचाइ (फ्री बोर्ड) बढाउनुपर्ने र समग्र डिजाइन कोड नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ,’ जैसीले भने ।विगतमा पानीको बहावलाई मात्रै आधार बनाएर पुल डिजाइन गर्ने गरिएकोमा अब लेदो, माटो र ढुंगामुढासहितको ‘डेब्रिज फ्लो’ले पार्ने अतिरिक्त भारलाई समेत डिजाइनमा समावेश गरिने उनले बताए ।
नदीको बीचमा पिलर राख्दा बाढीले बगाएर ल्याउने ढुंगामुढा तथा अन्य संरचनाले पुलमा थप क्षति पुर्याउने देखिएको भन्दै जैसीले नेपालमा पिलरविहीन लामा र अग्ला पुल निर्माण गर्नुपर्ने अवस्था आएको बताए ।
त्यस्तै, एउटै सडक वा पुलमा निर्भर रहँदा विपद्का बेला जिल्ला सदरमुकाम नै सम्पर्कविहीन हुने अवस्था देखिएकाले अब ७७ वटै जिल्ला सदरमुकामलाई कम्तीमा दुईदेखि तीन स्थानबाट जोड्ने वैकल्पिक सडक सञ्जाल विकास गरिने उनले जानकारी दिए ।विपद्का बेला तत्काल काम गर्न सडक विभागको योजना तथा डिजाइन महाशाखाअन्तर्गत छुट्टै ‘विपद् युनिट’ स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
पछिल्लो बाढीले कालीगण्डकी करिडोर तथा मालढुंगा–बेनी–जोमसोम–कोरोला सडकखण्डलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । मालढुंगा पुलको एप्रोच सडक बगेको स्थानमा करिब १२ हजार घनमिटर माटो भर्नुपर्ने अवस्था रहेको र ‘जिओ ब्याग’ प्रयोग गरी काम भइरहेको विभागले जनाएको छ । राहुघाट, बेगखोला र बैसरी क्षेत्रमा पनि तत्काल ट्र्याक खुलाउने काम भइरहेको छ ।
चाडपर्व नजिकिँदै गर्दा सडकका खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिइएको जैसीले बताए । सार्वजनिक खरिद ऐन तथा प्रणालीमा रहेका प्राविधिक समस्याका बाबजुद विभागले आवश्यक ठाउँमा अमानतबाट समेत काम गरिरहेको उनको भनाइ छ ।
सडक विभागले यसै वर्षदेखि मध्यमकालीन खर्च संरचनामा आधारित तीनवर्षे बजेटिङ प्रणाली लागू गरेको छ । यसबाट वार्षिक ५ अर्ब रुपैयाँ बजेट हुने आयोजनामा पनि एकैपटक १५ अर्ब रुपैयाँसम्मको ठेक्का लगाउन सकिने बाटो खुलेको विभागले जनाएको छ ।जैसीका अनुसार विभागले काम नगर्ने रुग्ण ठेक्कामाथि कारबाही अघि बढाएको छ । हालसम्म १०० भन्दा बढी ठेक्का तोडिएको र बाँकी निर्माण व्यवसायीलाई पनि काममा फर्काइएको उनले बताए ।
यसै वर्षदेखि सडक सुरक्षा, सडक विस्तार, पर्यटकीय सडक र औद्योगिक सडकका लागि छुट्टाछुट्टै बजेट शीर्षक राखेर काम सुरु गरिएको पनि उनले जानकारी दिए ।महानिर्देशक जैसीले बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज राख्ने विषय पनि सहज नभएको स्पष्ट पारे । बेलिब्रिजका लागि बलियो जग आवश्यक पर्ने र लेदो तथा पहिरो प्रभावित क्षेत्रमा जग निर्माण गर्न कठिन हुने उनले बताए ।
मालढुंगाको आर्च ब्रिजले ६०–७० टनको बेलिब्रिजको भार थेग्न नसक्ने भएकाले त्यहाँ बेलिब्रिज नराखिएको उनले स्पष्ट पारे । बेलिब्रिज राख्न सम्भव नभएका स्थानमा छोटो समयमै डिजाइन गरी स्थायी संरचना निर्माण गर्ने योजनामा विभाग रहेको जैसीले बताए ।
प्रतिक्रिया दिनुहोस