२०८३, आश्विन २१ गते

ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई महासंघको आग्रह

मंगलवार , आश्विन २०, २०८३

ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमलाई उद्योगबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल रोक्न माग गरेको छ।

महासंघले ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्र ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निगमको ध्यानाकर्षण गराएको हो।

बजारमा आवश्यकता भन्दा बढी सिलिन्डर रहेका कारण ग्यास अभावको अवस्था सिर्जना भएको महासंघको दाबी छ। उद्योगहरूले प्रत्यक्ष रूपमा ग्यासको खुद्रा बिक्री गर्दा डिलर व्यवसाय प्रभावित हुनुका साथै बजार व्यवस्थापनमा समेत समस्या देखिएको महासंघको भनाइ छ।

महासंघले ग्यास उद्योगहरूले नयाँ सिलिन्डर २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको भन्दै त्यसप्रति समेत आपत्ति जनाएको छ। यस्तो अवस्थामा निगम र सरकार मूकदर्शक बनेको भन्दै महासंघले उद्योगी, निगम तथा सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ।

त्यस्तै, बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको सट्टा आगामी वर्षहरूमा उपभोक्तामाथि थप आर्थिक भार पार्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको महासंघको आरोप छ।

यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने चेतावनी दिँदै महासंघले ग्यासको बिक्री वितरण प्रणालीलाई व्यवस्थित गर्न तत्काल आवश्यक कदम चाल्न नेपाल आयल निगमसँग माग गरेको छ।

gas_bikreta.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!