साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.९६ अंकले बढेर २,५७८.७३ विन्दुमा बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार मंगलबार भने सुधारिएको हो।
नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ३५९ वटा धितोपत्रका ८९ लाख ५५ हजार २३० कित्ता शेयर खरिद–बिक्री भएका छन्।
मंगलबार १६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
यस दिन त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेर २८८ रुपैयाँ पुगेको छ। त्यस्तै, साल्पा विकास बैंकको शेयर मूल्य ३.७७ प्रतिशतले बढेर प्रतिकित्ता ८४० रुपैयाँ ५० पैसा पुगेको छ।
यता, सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सर्वाधिक ४.९४ प्रतिशतले घटेर १ हजार १३६ रुपैयाँमा झरेको छ। एनआईबीएल ग्रोथ फण्डको इकाइ मूल्य पनि ४.४४ प्रतिशतले घटेर ८ रुपैयाँ ६० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता २७८ रुपैयाँ ६० पैसाका दरले २३ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा १.३१ प्रतिशतले बढेको हो।
त्यस्तै, लिबर्टी इनर्जीको १३ करोड ९१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता शेयर मूल्य २५१ रुपैयाँ ५० पैसा रहेको छ।
कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको परिसूचक घटेको छ। बाँकी ११ समूहको परिसूचक भने बढेको छ।
प्रतिक्रिया दिनुहोस