२०८३, आश्विन २२ गते

दशैंमा काठमाडौंका उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिए पनि ग्यास पाइने

बिहिवार , आश्विन २२, २०८३

चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर ग्यास लिन सकिने व्यवस्था गर्न लागिएको छ ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता महासंघ र सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो । यसअनुसार उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डभन्दा फरक कम्पनीको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन सक्नेछन् ।

यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले उपभोक्ताको सहजताका लागि निगमकै आग्रहमा ग्यास उद्योगीहरूले यस्तो व्यवस्था गर्न लागेको बताए ।

विशेषगरी एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ग्यास उपलब्ध हुँदाहुँदै ब्रान्ड फरक भएकै कारण समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो । विगतमा फरक कम्पनीको सिलिन्डर साट्दा डिलरहरूले अतिरिक्त शुल्क लिने गरेको गुनासो आए पनि नयाँ व्यवस्थामा त्यस्तो शुल्क नलाग्ने निगमले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका करिब १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका स्थानमा काउन्टर राख्ने विषयमा छलफल भइरहेको छ ।

संकलन भएका फरक–फरक कम्पनीका खाली सिलिन्डरलाई ग्यास उद्योगीहरूले पछि आपसी समन्वयमा व्यवस्थापन गर्नेछन् ।

उद्योगीहरूका अनुसार यो सुविधा डिलर वा व्यवसायीका लागि नभई ग्यास अभावका कारण समस्यामा परेका वास्तविक उपभोक्ताका लागि मात्र हुनेछ । ग्यासको दुरुपयोग रोक्न उपभोक्ताको परिचय खुल्ने कागजात र मोबाइल नम्बर लिएर मात्र सिलिन्डर उपलब्ध गराउने तयारी गरिएको छ ।

निगमका कार्यकारी निर्देशक साहले निश्चित काउन्टरबाट मात्र नभई डिलर स्तरबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न मिल्ने व्यवस्था भए उपभोक्ताका लागि अझ सहज हुने बताए ।

सेवा सञ्चालन हुने स्थानबारे अन्तिम निर्णय भएपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गर्ने तयारी रहेको निगमले जनाएको छ ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले ग्यासको खपत सामान्य समयको तुलनामा करिब ४० प्रतिशत घट्ने गरेको छ । तर, उपत्यकामै रहने र एउटामात्र सिलिन्डर भएका उपभोक्ताका लागि जुनसुकै ब्रान्डको सिलिन्डर साटेर ग्यास लिन पाउने व्यवस्थाले चाडपर्वका बेला राहत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!