पोखरास्थित लक्जरी इको–रिसोर्ट द पाभिलियन्स हिमालयज, द फार्म सन् २०२६ को कोंडे नास्ट ट्राभलर रिडर्स च्वाइस अवार्ड्समा एसियाका उत्कृष्ट होटलमध्ये छनोट भएको छ ।
दिगो पर्यटन, वातावरण संरक्षण तथा स्तरीय आतिथ्य सेवाका लागि परिचित पाभिलियन्स हिमालयजको यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
प्राकृतिक वातावरणसँग समायोजन गरी सञ्चालनमा रहेको रिसोर्टले विलासी आतिथ्यसँगै वातावरणीय दिगोपन र जिम्मेवार पर्यटनलाई प्राथमिकता दिँदै आएको जनाएको छ । स्थानीय समुदायको सहभागिता तथा प्राकृतिक स्रोतको संरक्षणलाई पर्यटन व्यवसायसँग जोड्दै रिसोर्टले सेवा र पूर्वाधार विकास गर्दै आएको छ ।
कोंडे नास्ट ट्राभलरले आयोजना गर्ने रिडर्स च्वाइस अवार्ड्स यात्रु तथा पाठकको रोजाइ र अनुभवमा आधारित हुन्छ । अवार्डमा विश्वभरका होटल, रिसोर्ट, गन्तव्य तथा पर्यटन सेवाहरू समेटिन्छन् ।
अन्तर्राष्ट्रिय सूचीमा पाभिलियन्स हिमालयजको छनोटले नेपालको लक्जरी तथा इको–टुरिजमलाई विश्व पर्यटन बजारमा थप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, यसले पोखरालाई उच्चस्तरीय तथा दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न समेत योगदान पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस