रसुवाको त्रिशूली–भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि कुमारी बैंकका कर्मचारीहरूले ४५ लाख ९७ हजार ३५३ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा आफ्नो तलबबाट रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम योगदान गरेका हुन्।
यसअघि पनि कुमारी बैंकले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा आर्थिक सहयोग प्रदान गरेको थियो।
त्यसैगरी, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन बैंकले गृह मन्त्रालयलाई ३९ लाख रुपैयाँ बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक, जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो।
प्राकृतिक विपद्बाट ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका समुदायप्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेको बैंकले जनाएको छ। संकलित रकमबाट प्रभावित समुदायका लागि राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाउने बैंकको विश्वास छ।
प्रतिक्रिया दिनुहोस