नेपाल–चीन उत्तरी कोरला नाकाबाट ११ दिनको अवधिमा पाँच सय ४३ टन चिनियाँ फलफूल नेपाल भित्रिएको छ। तर, भारी वर्षा र हिमपातपछि बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा आयातित फलफूल गन्तव्यसम्म पुर्याउन कठिनाइ भएको छ।
लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार पछिल्लो ११ दिनमा कोरला नाकाबाट स्याउ, आँप र ड्रागन फ्रुटलगायत फलफूल आयात भएको हो।
कार्यालयकी प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार उक्त अवधिमा ८७ दशमलव ३०० टन स्याउ, १६ दशमलव १०० टन आँप र ८ दशमलव ३१६ टन ड्रागन फ्रुट नेपाल भित्रिएको छ।
भारी वर्षा र हिमपातका कारण असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएपछि आयातित फलफूल ढुवानीमा समस्या भएको हो। फलफूल लामो समयसम्म कन्टेनरमै थन्किँदा सड्ने र बिग्रने जोखिम बढेको छ।
यसैबीच, समयमै गन्तव्यमा पुर्याउन नसकिएपछि मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनर ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको छ। कम्पनीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा रहेको करिब आठ टन ड्रागन फ्रुट कुहिएर नष्ट हुन सक्ने जोखिम बढेपछि स्थानीयलाई वितरण गरिएको हो।
प्रतिक्रिया दिनुहोस