२०८३, आश्विन २३ गते

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ खिच्दै

शुक्रवार , आश्विन २३, २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ।

राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी निक्षेप संकलनसम्बन्धी सूचना जारी गरेको हो। बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले केन्द्रीय बैंकले उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको रकमसम्म ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने राष्ट्र बैंकले जनाएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

दुई महिनाका लागि जारी हुने उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ।

बैंकिङ प्रणालीमा आवश्यकताभन्दा बढी तरलता थुप्रिँदा त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यस प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट निश्चित अवधिका लागि रकम संकलन गरी बजारमा उपलब्ध अतिरिक्त तरलता व्यवस्थापन गरिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!