कास्कीको पोखरा महानगरपालिका–२८ माझथानास्थित ओख्लेभीरमा शुक्रबार बिहान कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको उक्त बस विद्यार्थी तथा अन्य यात्रु लिएर माझथानाबाट फर्कने क्रममा ओख्लेभीरमा सडकबाट खसेर दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीले उद्धार कार्य सुरु गरेका थिए। उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याइएका १७ जनामध्ये पाँच जनालाई चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनामा घाइते भएका १२ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचारका लागि आईसीयूमा राखिएको छ।
अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र उनीहरूको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस