२०८३, आश्विन २३ गते

रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश वितरण, ५७ करोड रुपैयाँ बाँड्ने

शुक्रवार , आश्विन २३, २०८३

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको हो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांशमा प्रचलित कानुनबमोजिम लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण भएको वित्तीय प्रतिवेदनसमेत पारित गरेको छ।

गोल्याण ग्रुपअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्सले आफ्नो व्यवसाय विस्तार गर्ने योजनालाई पनि साधारणसभाबाट स्वीकृति प्राप्त गरेको छ। कम्पनीले अत्याधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्नुका साथै प्राकृतिक फाइबरमा आधारित उत्पादन, कपडा तथा गार्मेन्ट उद्योगमा प्रवेश गर्ने योजना अघि बढाएको छ।

कम्पनीले अल्लो, हेम्प र केरालगायत प्राकृतिक स्रोतबाट फाइबर तथा धागो उत्पादन गर्ने, विभिन्न प्रकारका कपडा र गार्मेन्ट उत्पादन गर्ने तथा फाइबर, धागो र कपडाको रङ्गाई गर्ने योजना बनाएको छ।

यस व्यवसाय विस्तारमार्फत स्थानीय स्रोतमा आधारित प्राकृतिक फाइबरलाई आधुनिक प्रविधिसँग जोड्दै मूल्य अभिवृद्धि गर्ने कम्पनीको लक्ष्य छ। फाइबर, धागो, कपडा र तयारी पोशाक उत्पादनमा प्रवेश गर्ने योजनालाई कम्पनीको व्यवसाय विविधीकरणको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

साधारणसभाले कम्पनीको सञ्चालक समितिको संरचनामा समेत परिवर्तन गरेको छ। संशोधित व्यवस्थाअनुसार संस्थापक सेयरधनी समूहबाट चार जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना र एक जना स्वतन्त्र सञ्चालक गरी कुल ६ सदस्यीय सञ्चालक समिति रहनेछ।

सोहीअनुसार संस्थापक सेयरधनी समूहबाट पवन कुमार गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरण देवी अग्रवाल सर्वसम्मत रूपमा सञ्चालक निर्वाचित भएका छन्। सर्वसाधारण सेयरधनी समूहबाट बसन्त नाहटा निर्विरोध निर्वाचित भएका छन् भने स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता हरिश्चन्द्र सुवेदीको नियुक्ति अनुमोदन गरिएको छ।

लाभांश वितरणसँगै उत्पादन तथा व्यवसाय विस्तारको योजना अघि बढाएको रिलायन्स स्पिनिङ मिल्सले आगामी दिनमा आफ्नो उत्पादन विविधीकरणलाई थप विस्तार गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!