आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज सोमबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
लिग–२ को शीर्ष ६ मा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल निर्णायक छ । शनिबार क्यानडासँग २४ रनले पराजित भएपछि नेपाल अंकतालिकाको सातौँ स्थानमा झरेको छ । त्यसैले शीर्ष ६ मा उक्लिन नेपालले आजको खेल जित्नुपर्नेछ ।
जिते छैटौँ स्थानमा उक्लिने अवसर
नेपालले ३५ खेलबाट २८ अंक जोडेको छ । क्यानडाले ३६ खेलबाट २९ अंकसहित आफ्नो लिग–२ यात्रा पूरा गरिसकेको छ । नेपालले ओमानलाई हराउन सके ३० अंकसहित क्यानडालाई उछिनेर छैटौँ स्थानमा पुग्नेछ ।
तर, ओमानसँग पराजित भए नेपाल सातौँ स्थानमै रहनेछ र क्यानडाले छैटौँ स्थान कायम राख्नेछ । त्यसैले नेपालको ओडीआई मान्यता जोगाउने अभियानमा आजको खेल महत्त्वपूर्ण बनेको छ । ओमानमा जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको थियो । दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनले पराजित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
तर, शनिबार भएको तेस्रो खेलमा क्यानडाले नेपाललाई २४ रनले हरायो । क्यानडाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २५६ रन बनाएको थियो । २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटिएको थियो । ओपनर अर्जुन कुमालले ८७ रन बनाए पनि नेपाललाई जिताउन सकेनन् । ओमान ३१ खेलबाट ३३ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा छ । ओमानले यसअघि नेपालसँग ११३ रनले पराजय बेहोरेको थियो भने क्यानडासँगको खेलमा पनि हार व्यहोरेको थियो ।
नेपालका लागि आजको खेल जित्नु अंकतालिकामा माथि उक्लिने अवसर मात्र होइन, लिग–२ को अभियानलाई सुखद रूपमा टुंग्याउने मौका पनि हो । शीर्ष ६ मा स्थान बनाउन सके नेपालले आफ्नो ओडीआई मान्यता कायम राख्नेछ ।
प्रतिक्रिया दिनुहोस