२०८३, आश्विन २८ गते

ओमानविरुद्ध नेपालको ११३ रनको शानदार जित, लगातार दोस्रो सफलता

मंगलवार , आश्विन २७, २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको फराकिलो जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै अलआउट भयो।

जारी शृंखलामा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो। ओमानले भने शृंखलामा पहिलो हार बेहोरेको छ। उसले यसअघि क्यानडालाई ४१ रनले हराएको थियो।

अल अमिरात रंगशालामा नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए। उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे। जय ओडेदराले २५ तथा जतिन्दर सिंहले १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका बलरले सुरुदेखि नै ओमानी ब्याटरलाई दबाबमा राखेका थिए। सातौँ विकेटका लागि शुक्ला र ओडेदराले ८३ रनको साझेदारी गर्दै ओमानलाई खेलमा फर्काउने प्रयास गरे पनि दीपेन्द्रसिंह ऐरीले ओडेदरालाई एलबीडब्ल्यू आउट गर्दै साझेदारी तोडे।

नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललितनारायण राजवंशीले एक–एक विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६१ रनको योगदान गरे। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। अन्तिमतिर आक्रामक ब्याटिङ गरेका करण केसीले १६ बलमा चार छक्का र एक चौकासहित अविजित ४० रन जोडे।

आसिफ शेख सस्तैमा आउट भएपछि अर्जुन कुमाल र इशान पाण्डेले नेपालको इनिङ सम्हाले। अर्जुनले ४० तथा इशानले ३७ रन बनाए। दोस्रो विकेटका लागि उनीहरूले ६४ रनको साझेदारी गरेका थिए। मध्यक्रममा बसिर अहमदले ३७ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। सन्दीप जोराले १० रन जोडे। पाँचौँ विकेटका लागि रोहित र बसिरबीच ८६ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । ओमानका शाह फैसल, सकिल अहमद र करण सोनावालेले दुई–दुई तथा हसनैन शाहले एक विकेट लिए।

यस जितसँगै नेपालले ३४ खेलबाट २८ अंक जोड्दै लिग–२ को तालिकामा छैटौँ स्थान कायम गरेको छ। पराजित ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। शृंखलाअन्तर्गत ओमानले बिहीबार क्यानडासँग खेल्नेछ भने नेपालले शनिबार क्यानडाको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!