कृषि विकास बैंक लिमिटेड (एडीबीएल) ले आफ्ना सम्पूर्ण बैंकिङ सेवा पुनः सञ्चालनमा ल्याएको जनाएको छ।
विश्वव्यापी रूपमा वेब प्रविधि (PHP2 Shell) मा देखिएको साइबर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंकले केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेको थियो। बन्द गरिएका वेबसाइटलगायतका प्लेटफर्म अद्यावधिक संस्करणमा रहेकाले कुनै असर नपरेको बैंकले जनाएको छ। आवश्यक प्राविधिक सुरक्षा जाँच पूरा भएपछि बैंकका सम्पूर्ण बैंकिङ सेवा पुनः सञ्चालनमा ल्याइएको हो।
यद्यपि, बैंकको अनलाइन खाता खोल्ने (Online Account Open) सेवा भने नयाँ संस्करणमा स्तरोन्नति गर्ने प्रक्रिया जारी रहेकाले तत्काल सञ्चालनमा नआउने बैंकले स्पष्ट पारेको छ। उक्त सेवा निकट भविष्यमा पुनः सञ्चालनमा ल्याइने बैंकको भनाइ छ।
केही अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध हुँदा ग्राहकलाई परेको असुविधाप्रति बैंकले क्षमा माग्दै धैर्य र सहयोगका लागि धन्यवाद दिएको छ। थप जानकारी वा सहायताका लागि बैंकको गुनासो सुनुवाइ नम्बर ९८५१३२८५६६ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस