नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायत सेवा अस्थायी रूपमा बन्द गरेको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै सुरक्षा जोखिमका कारण वेबसाइट तथा सम्बन्धित सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो। सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमा जोडिन आग्रह गरिएको छ।
राष्ट्र बैंकले उक्त सुरक्षा जोखिमबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई समेत सतर्कता अपनाउन आग्रह गरेको छ। बैंकले सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित र सबल बनाउन तथा नियमित सुरक्षा निगरानी बढाउन अपिल गरेको छ।
पीएचपी वेब प्रविधिमा देखिएको सुरक्षा जोखिमपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायत सेवा अस्थायी रूपमा बन्द गरेको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीलाई पनि सुरक्षा सतर्कता बढाउन आग्रह गरिएको छ।
राष्ट्र बैंकको आग्रह बैंक तथा वित्तीय संस्थामा मात्र सीमित छैन। भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि आवश्यक सुरक्षा सतर्कता अपनाउन भनिएको छ।
डिजिटल बैंकिङ, विद्युतीय भुक्तानी र अनलाइन सेवाको प्रयोग बढिरहेका बेला यस्तो सुरक्षा जोखिमले वित्तीय संस्थाका डिजिटल प्रणालीको सुरक्षा र नियमित निगरानीको महत्त्वलाई थप उजागर गरेको छ।
प्रतिक्रिया दिनुहोस