२०८३, कार्तिक ८ गते

जुम्लाबाट ५५ करोडको ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात

शुक्रवार , कार्तिक ७, २०८३

जुम्लाबाट यस वर्ष हालसम्म ७ हजार ३३० मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार किसानले बगैंचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपैयाँमा स्याउ बिक्री गरेका छन्। हालसम्मको निर्यातबाट करिब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको कार्यालय प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

जिल्लामा यस वर्ष करिब १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। गत वर्षको तुलनामा उत्पादन केही घट्ने अनुमान रहे पनि उत्पादन र निर्यातको यकिन तथ्याङ्क संकलन भइरहेको अधिकारीले बताए।

स्याउको निर्यात तथा कारोबारको विवरण संकलन जारी रहेकाले भण्डारणमा रहेका स्याउ बजारमा पुगेपछि निर्यातको परिमाण र कारोबार रकम थप बढ्न सक्ने कार्यालयको अनुमान छ। केही व्यापारीले स्याउ कोल्ड स्टोर तथा घरमै भण्डारण गरेर राखेका छन्।

४ हजार ६०५ हेक्टरमा स्याउ खेती
जुम्लामा करिब ४ हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ। चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् २ हजार १६० रोपनी क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य कृषि विकास कार्यालयले लिएको छ।

जिल्लामा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन, रिचा रेड, जोनाथन र स्पोरलगायतका जातका स्याउ उत्पादन हुन्छन्। पछिल्लो समय उच्च घनत्वमा गाला र फुजी जातका स्याउ खेती पनि विस्तार भइरहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार जुम्लामा उच्च घनत्वको फुजी स्याउ खेती ५२ हेक्टरमा हुँदै आएको छ। यस वर्ष ४९ हेक्टर क्षेत्रफलमा उच्च घनत्वको स्याउ फलेको छ।

बजारमा जुम्ली स्याउको माग
यस वर्ष भारतबाट आयात हुने स्याउ नेपालमा बन्द भएपछि जुम्लाको स्याउले बजारमा राम्रो अवसर पाएको स्थानीय व्यापारीले बताएका छन्।

हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाका अनुसार उनले जुम्लाबाट १ हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेकी छन्। भारतबाट आउने स्याउको आपूर्ति बन्द हुँदा नेपाली स्याउको बजार विस्तारमा सहयोग पुगेको उनको भनाइ छ।

जुम्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर रहेको कृषि विकास कार्यालयले जनाएको छ। यसले स्याउ खेतीलाई जिल्लाको कृषि आय, स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा स्थापित गरेको छ।

जुम्लाबाट स्याउको निर्यात बढ्नु किसानका लागि बजार विस्तारको अवसर भए पनि उत्पादन, भण्डारण, ढुवानी र बजार व्यवस्थापनमा सुधार गर्न सके यसको आर्थिक लाभ अझ बढाउन सकिने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!