२०८३, कार्तिक २६ गते

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा, २३ वर्षे यात्रा अन्त्य

बिहिवार , कार्तिक १९, २०८३

पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट सन्न्यास लिने घोषणा गरेका छन्। ४१ वर्षीय रोनाल्डोले आगामी नोभेम्बरको अन्तर्राष्ट्रिय खेल अवधिपछि पोर्चुगलको राष्ट्रिय टोलीबाट बिदा लिने बताएका हुन्।

रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने घोषणा गरेका हुन्।‘अब राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने समय आएको छ,’ रोनाल्डोले आफ्नो घोषणामा भनेका छन्।

रोनाल्डोले सन् २००३ को अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यसयता उनले देशका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोको नाममा छन्।

उनकै नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा पहिलो पटक युरोपेली च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यस्तै, सन् २०१९ मा युइएफए नेसन्स लिगको उपाधि जित्दा पनि रोनाल्डो टोलीका प्रमुख सदस्य थिए।

पाँच पटक बालोन डी’ओर जितेका रोनाल्डोले क्लब फुटबलमा पनि उल्लेखनीय सफलता हासिल गरेका छन्। उनले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसजस्ता युरोपका प्रतिष्ठित क्लबबाट खेलेका छन्। हाल उनी साउदी अरेबियाको अल नासरमा आबद्ध छन्।

राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरे पनि रोनाल्डोले क्लब फुटबलबाट भने सन्न्यास लिएका छैनन्। त्यसैले उनको व्यावसायिक फुटबल यात्रा तत्काल जारी रहनेछ।यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताइसकेका रोनाल्डोको पछिल्लो घोषणासँगै पोर्चुगलको जर्सीमा उनको अन्तिम खेलप्रति विश्वभरका फुटबल समर्थकको चासो बढेको छ।

२३ वर्षको अन्तर्राष्ट्रिय करियरमा गोल, कीर्तिमान र उपाधिको इतिहास बनाएका रोनाल्डोको बिदाइ पोर्चुगल फुटबलका लागि एउटा ऐतिहासिक क्षण बन्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images