सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तले ३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको यही अवधिमा लघुवित्तले १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको उल्लेखनीय वृद्धिका कारण लघुवित्तको नाफा मजबुत बनेको हो। समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ७३.२० प्रतिशत ले बढेको छ भने अन्य सञ्चालन मुनाफा ११.९० प्रतिशत ले वृद्धि भएको छ। यसैगरी, कुल सञ्चालन आम्दानी ६०.२१ प्रतिशत र सञ्चालन मुनाफा ७३.८३ प्रतिशत ले बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १६ लाख ६५ हजार रुपैयाँ रहेको छ। संस्थासँग हाल ४ करोड ४० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयाँ ९२ पैसा पुगेको छ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा वृद्धि भई ५१ रुपैयाँ ८७ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३४.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ १ पैसा रहेको छ।
हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ८९ लाख रुपैयाँ सञ्चित रहेको छ।

