नैतिकता भन्नाले सच्चा कुरा बोल्नु, राम्रो व्यवहार गर्नु, गलत काम नगर्नु, अरूको सम्मान गर्नु, इमानदार हुनु र आफ्नो कर्तव्य पुरा गर्नु नै नैतिकता हो । यो कुनै किताबमा मात्र लेखिएको कुरा होइन, हाम्रो जीवनको हरेक पाटोमा लागू हुने व्यवहार हो । हामी कुन कुरालाई राम्रो र कुन कुरालाई नराम्रो मान्छौं भन्ने कुरा पनि नैतिकताको आधारमा तय हुन्छ । नेपाल जस्तो विविधताले भरिएको देशमा, जहाँ विभिन्न जात, धर्म, भाषा र संस्कृतिका मानिसहरू एउटै समाजमा बस्छन्, त्यहाँ नैतिकता झनै महत्वपूर्ण हुन्छ । जब व्यक्ति, परिवार, समाज, संस्था, र राज्य सबैमा नैतिकता हुन्छ, तब मात्र एउटा सभ्य, समृद्ध र न्याययुक्त देश बन्न सक्छ ।
तर अहिलेको समयमा नेपालमा नैतिकताको स्थिति कमजोर हुँदै गएको छ । मानिसहरू पैसा, पद, पहुँच र व्यक्तिगत फाइदाको पछि लागेर नैतिक मूल्य भुल्दै गएका छन् । राजनीति, प्रशासन, शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार, कृषि, सेवा सबै क्षेत्रमा अनैतिकता बढ्दो छ । यस्तो अवस्थामा नैतिकता के हो, कसरी हराउँदै गइरहेको छ, र कसरी पुनःस्थापना गर्न सकिन्छ भन्ने बारे गहिरो रूपमा बुझ्नु आजको आवश्यकता हो ।
नैतिकता भनेको आत्मभान हो-आफ्नो व्यवहार, निर्णय र सोचमा के सही हो, के गलत हो भन्ने छुट्याउने चेतना । नैतिकता कुनै कानून होइन, तर यसले कानूनभन्दा गहिरो असर पार्छ । जसको मनभित्र नैतिकता हुन्छ, उसले कसैले नहेर्दा पनि राम्रो काम गर्छ, झूट बोल्दैन, चोरी गर्दैन, अरूलाई दुख नदिई आफ्नो काम गर्छ । नैतिकता जीवनका धेरै पक्षसँग जोडिएको हुन्छ-जस्तै सत्यता, ईमानदारी, सहिष्णुता, कर्तव्यबोध, करुणा, अनुशासन, जिम्मेवारी, आत्मसंयम, सेवा भावना, र पारदर्शिता । जब यी गुणहरू व्यक्ति र संस्थामा हुन्छन्, तब नै समाज न्यायपूर्ण र सुरक्षित हुन्छ ।
नेपालमा सबैभन्दा बढी नैतिकताको प्रश्न राजनीति क्षेत्रमा उठाइन्छ । नेताहरूले चुनावमा जनतालाई अनेक वाचा गर्छन्-तर सरकार बनेपछि ती वाचा बिर्सिन्छन् । पदको दुरुपयोग, भ्रष्टाचार, आपसी लडाइँ, भागबन्डा र पहुँचको राजनीति आज नेपाली राजनीतिमा सामान्य बनिसकेको छ । कतिपय नेताहरू जनताको सेवा गर्नुको सट्टा सत्तामा टिकिरहन, आफन्त र कार्यकर्तालाई लाभ दिन, र आफू धनी बन्न राजनीति गर्छन् । दलहरूले घोषणा पत्रमा जे लेख्छन्, व्यवहारमा त्यो देखिँदैन । संसद जस्तो उच्च निकायमा पनि विचारभन्दा शक्ति प्रदर्शन बढी देखिन्छ ।
राजनीतिमा नैतिकता भन्नाले सत्ताको लोभ नलिने, जनतासँग गरेको वाचा पुरा गर्ने, सार्वजनिक सम्पत्तिलाई आफ्नो सम्पत्ति नठान्ने, पारदर्शी निर्णय गर्ने, भ्रष्टाचार नगर्ने, र राष्ट्रहितलाई प्राथमिकता दिने-यिनै हुन् राजनीतिक नैतिकताको मूल तत्व । जब नेताहरू नैतिक हुन्छन्, तब मात्र जनताले पनि राजनीतिलाई सम्मान गर्न थाल्छन् ।
सरकारी कर्मचारीहरूलाई प्रायः “जनताको सेवक” भनिन्छ । तर आजको यथार्थ त्यो भन्दा धेरै टाढा छ । सरकारी कार्यालयमा काम गराउन जानु भनेको घण्टौँ कुर्नु, फाइल खोज्नु, सिफारिस ल्याउनु, र कहिलेकाहीं घूस खुवाउनु भन्ने बुझिन्छ । धेरैजसो कर्मचारीहरू काममा ढिलो पुग्छन्, समयमै फाइल नहेर्छन्, सेवाग्राहीलाई हेलचेक्र्याउँ गर्छन् । कतिपयले त ठूला नेतासँगको सम्बन्ध देखाएर गैरकानूनी काम गरिदिन्छन् । सरकारी योजना, अनुदान, ठेक्कापट्टा, भर्ना, सरुवा आदि सबैमा पारदर्शिता नभएको गुनासो सर्वत्र सुनिन्छ । राष्ट्रसेवक कर्मचारीहरूमा कार्यक्षमता, समयपालन, निष्पक्षता, उत्तरदायित्व, सेवा भावना, इमानदारी, र कर्तव्यप्रति निष्ठा हुन जरुरी छ । जब कर्मचारीहरू आफ्नो कामलाई धर्म सम्झेर गर्छन्, तब जनताले पनि सरकारी सेवा प्रति भरोसा राख्न थाल्छन् ।
महिला समाजको आधा हिस्सा हुन् । उनीहरू घर, समाज र राष्ट्रको विकासमा समान रूपमा महत्वपूर्ण छन् । तर लामो समयसम्म महिलालाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको इतिहास छ । पछिल्ला वर्षहरूमा शिक्षा, रोजगार, राजनीति, र कानूनी अधिकारमा प्रगति भए पनि व्यवहारिक रूपमा महिला अझै पनि धेरै समस्यामा छन् । केही महिला सशक्त भए पनि अवसरको दुरुपयोग, पहुँच र राजनैतिक संलग्नताका कारण अनैतिक गतिविधिमा पनि संलग्न भएको पाइन्छ । कतिपय महिलाले योजनाको नाममा लाभ लिने तर काम नगर्ने, संगठित रूपमा दबाब दिने, पदको दुरुपयोग गर्ने गरेका उदाहरण पनि छन् । महिलामा आत्मसम्मान, पारिवारिक जिम्मेवारी, सामाजिक न्यायमा विश्वास, ईमानदारी, र सहिष्णुता हुन जरुरी छ । महिला सशक्तीकरण केवल कानूनी अधिकारले मात्र होइन, नैतिक जिम्मेवारीले पनि पूर्ण हुन्छ ।
विद्यार्थीहरू राष्ट्रको भविष्य हुन् भन्ने भनाइ सबैले सुनिसकेका छन् । तर आजका विद्यार्थीहरू राजनीतिक दलका समर्थक भएर आफू पढ्न भन्दा बढी अरूलाई दबाब दिने काममा लागेका छन् । शिक्षण संस्था भित्र हड्ताल, तोडफोड, गुरु-शिष्य सम्बन्धमा गिरावट, नकल, अनुशासनहीनता आदिले नैतिक मूल्य खस्किरहेको देखिन्छ । शिक्षा भनेको केवल किताबको ज्ञान होइन, जीवनको आचरण हो । विद्यार्थीमा समयको मूल्य बुझ्ने, इमानदारीपूर्वक अध्ययन गर्ने, शिक्षक र अभिभावकको सम्मान गर्ने, विचार र व्यवहारमा सन्तुलन राख्ने क्षमता विकास हुनु आवश्यक छ ।
नेपालको ठूलो जनसंख्या कृषि पेशामा निर्भर छ । किसानहरू देशका मेरुदण्ड हुन् भन्ने कुरा सबैले भन्छन्, तर उनीहरूको अवस्था भने दिनदिनै कमजोर हुँदै गइरहेको छ । सरकारले घोषणा गर्ने अनुदान, सहुलियत ऋण, बीउबिजन र मलखाद समयमै किसानसम्म पुग्दैन । कतिपय अवस्थामा किसानहरू आफू उत्पादन गर्नुभन्दा पनि विदेशबाट आएको वस्तु उपभोग गर्न बाध्य छन् । केही किसानले अनुदानको दुरुपयोग गर्ने, झूटा कागजात बनाउने, सहकारीमा अनियमितता गर्ने जस्ता व्यवहार पनि देखिन्छ । यस्तो प्रवृत्तिले सबै किसानको नाम बदनाम हुन्छ । अर्कातर्फ, सरकारको कमजोरी र बजार व्यवस्थापनको अभावले गर्दा पनि किसानहरू हतोत्साहित भएका छन् । किसानमा इमानदारी, सहयोगी भावना, पारदर्शिता र मिसावटविहीन उत्पादन गर्नु अत्यावश्यक हुन्छ ।
व्यापारीहरू समाजका आर्थिक इञ्जिन हुन् । उनीहरूकै माध्यमबाट सामान, सेवा र उत्पादन जनतासम्म पुग्छ । तर आज नेपालमा व्यापारिक नैतिकता कमजोर हुँदै गएको छ । नाफा कमाउने लोभमा नापतौलमा बेइमानी, म्याद सकिएको सामान बेच्ने, गुणस्तरहीन उत्पादन, मिसावट, कृत्रिम अभाव सिर्जना गर्ने, मूल्य बढाउने, कर नतिर्ने, सरकारी अनुगमन छल्ने जस्ता कार्यहरू देखिन्छन् । व्यापार केवल मुनाफाका लागि होइन, समाजप्रतिको उत्तरदायित्वसहितको पेशा हो । ग्राहक ठगेर कमाएको पैसा दीर्घकालीन हुँदैन । व्यापारीमा सत्य र पारदर्शी कारोबार, गुणस्तरको सम्मान, करको पालन, ग्राहकको सम्मानजस्ता गुण आवश्यक छन् ।
नेपालमा विभिन्न पेशा गर्ने व्यक्तिहरू-जसमा डाक्टर, इन्जिनियर, पत्रकार, शिक्षकजस्ता सम्मानित व्यक्तिहरू छन्-तिनीहरूलाई समाजले ठूलो आदर गर्छ । तर हालका दिनमा यिनै पेशामा पनि नैतिकताको गिरावट देखिँदै गएको छ । डाक्टरहरूमा करुणा, संवेदनशीलता, समयको कदर, र बिरामीप्रतिको सहानुभूति अत्यावश्यक छ । इन्जिनियरहरूमा गुणस्तरीयता, पारदर्शिता, प्राविधिक इमानदारी, र राष्ट्रप्रतिको जिम्मेवारी जरुरी छ । पत्रकारहरूमा सत्य, निष्पक्षता, स्रोतको गोपनीयता, र जनताको हितमा काम गर्ने भावना हुनुपर्छ । शिक्षकहरूमा आत्मबल, ज्ञानको निष्ठा, विद्यार्थीप्रतिको माया, र साँचो गुरु बन्ने भावना अनिवार्य छ ।
आजको युग सञ्चारको युग हो । मिडिया र सामाजिक संजालको हो ।आजको युग सञ्चारको युग हो । मिडिया र सामाजिक संजालको प्रभाव अहिलेको समाजमा अत्यन्त बलियो छ । सूचना, समाचार, विचार, बहस र चेतना जनतासम्म पुर्याउने काम यिनै माध्यमबाट हुन्छ । तर सूचना भन्दा अफवाह, सत्य भन्दा सनसनी, शिक्षाप्रद कुरा भन्दा विवादास्पद सामग्रीहरू बढी प्रस्तुत हुने क्रम बढेको छ । कुनै पनि विषयको पुष्टि नगरी समाचार बनाउने, वा सामाजिक संजालमा अफवाह फैलाउने काम बढ्दो छ । कतिपय मिडिया संस्थाहरू राजनीतिक स्वार्थमा काम गरिरहेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अरूको चरित्र हत्या गर्न, जातीय घृणा फैलाउन वा झूठो समाचार फैलाउन सक्रिय देखिन्छन् ।
संचार माध्यम र सामाजिक सञ्जालमा सत्य, विवेक, शिष्टता, र सहनशीलता हुनु अत्यावश्यक छ । जसरी कागजको समाचार विश्वासिलो हुनुपर्छ, त्यसैगरी डिजिटल पोस्ट पनि साँचो, प्रमाणमा आधारित र समाज हितमा हुनुपर्छ । अरूको गोपनीयता, आत्मसम्मान, र सामाजिक सद्भावलाई असर पुर्याउने कुनै पनि सूचना अनैतिक हुन्छ । त्यसैले मिडिया र सामाजिक संजाल प्रयोगकर्ताले आफू जिम्मेवार नागरिक भएको प्रमाण दिनुपर्छ ।
हाम्रो समाजको आधार भनेको नागरिक नै हो । हरेक नागरिकले आफू जहाँ छ, जस्तो छ, त्यहीँबाट नैतिक व्यवहार गर्न सुरु गरे भने समाज बदलिन धेरै समय लाग्दैन । सार्वजनिक ठाउँमा फोहोर नगर्नु, लाइनमा पालो पालना गर्नु, कर तिर्नु, झूट नबोल्नु, सवारी नियम पालना गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, छिमेकीसँग सहिष्णु व्यवहार गर्नु-यी सबै साधारण लाग्ने कामहरू नै हाम्रो नैतिकता हो ।
कहिलेकाहीं हामी कानून नलाग्ने ठाउँमा जानीजानी अनैतिक काम गर्छौं, जस्तो-पानी चोरेर सिंचाइ गर्नु, लोडसेडिङमा अनधिकृत लाइन जोड्नु, वा चाडपर्वमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्नु । यस्ता व्यवहारले समाजको अनुशासन मात्र होइन, हाम्रो व्यक्तित्व पनि कमजोर पार्छ । नैतिक नागरिक बन्ने काम स्कूल, धर्म, समाज वा सरकारको मात्र जिम्मा होइन-व्यक्ति स्वयंको हो । सानैदेखि यो चेतना विकास गरे मात्रै दीर्घकालीन प्रभाव पर्छ ।
नैतिकता समाजमा पुनःस्थापना गर्नका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । पहिलो, हाम्रो शिक्षा प्रणालीमा नैतिक शिक्षा अनिवार्य हुनुपर्छ, बाल्यकालदेखि नै मूल्य–आधारित शिक्षा दिनुपर्छ । विद्यार्थीलाई केवल परीक्षा पास गर्ने होइन, राम्रो मानिस बन्ने शिक्षामा जोड दिनुपर्छ । दोस्रो, शिक्षक, अभिभावक र समाजले केवल उपदेश होइन, व्यवहारबाट उदाहरण देखाउनुपर्छ । तेस्रो, धार्मिक र सांस्कृतिक संस्थाहरूले मानवता र सदाचारको प्रचार गर्नुपर्छ, अन्धविश्वास होइन । चौथो, सामाजिक सञ्जालमा प्रयोगकर्तालाई सचेत बनाउने अभियानहरू चलाउनुपर्छ, जसले साइबर मर्यादा सिकाउँछ । पाँचौँ, भ्रष्टाचार, अनियमितता, र पदको दुरुपयोग गर्नेलाई जुनसुकै तहको व्यक्ति भए पनि कानूनी रूपमा कडा कारबाही गरिनुपर्छ । छठौँ, सामुदायिक तहमा नैतिक बहस, गोष्ठी, नाटक, चित्रकला, कविता, लेखनजस्ता सृजनात्मक कार्यक्रमबाट चेतना फैलाउनु पर्छ । अन्तिममा, नैतिक व्यक्ति, संस्था वा नेतृत्वलाई सार्वजनिक रूपमा सम्मान गर्ने संस्कार बसाल्नुपर्छ, जसले समाजमा राम्रोको प्रेरणा दिन्छ ।
नैतिकता भन्नु केवल आदर्श होइन, व्यवहार हो । यो हाम्रै बोली, चालचलन, सोच, कर्म, सम्बन्ध र जिम्मेवारीमा झल्किन्छ । जब मानिसहरूमा नैतिकता बलियो हुन्छ, तब समाज स्वतः सुरक्षित, न्यायपूर्ण र शान्त हुन्छ । तर जब नैतिकता कमजोर हुन्छ, तब कानूनले मात्र सबै कुरा रोक्न सक्दैन ।
नेपालमा आज जुन संकटहरू छन्-भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता, सेवा प्रवाहमा कमजोरी, शिक्षा र स्वास्थ्यमा गिरावट, सामाजिक असहिष्णुता-यी सबैको मूल कारण नै नैतिकताको कमी हो । जब व्यक्ति, संस्था, र राज्य नैतिक बन्छ, तब कानून, नीति, योजना र विकास स्वाभाविक रूपमा सफल हुन्छन् ।
त्यसैले अब समय आएको छ कि हामी सबै-राजनीतिज्ञ, कर्मचारी, महिला, विद्यार्थी, किसान, व्यापारी, पेशाकर्मी, मिडिया, र सामान्य नागरिक-आ–आफ्नो ठाउँबाट नैतिकता अभ्यासमा लागौं । त्यसैबाट मात्रै साँचो परिवर्तन सम्भव हुन्छ । व्यक्तिको आत्मा शुद्ध भए समाज स्वतः सबल हुन्छ । अनि मात्र राष्ट्र बन्न सक्छ-न्याययुक्त, समावेशी, स्वाभिमानी र समृद्ध ।
(लेखक झा, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ राैतहट शाखाका पुर्व अध्यक्ष हुन्।)













