रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदीतर्फ जाँदै गरेको रा१ज ४२२ नम्बरको जिप भित्री सडकखण्डमा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृतकहरूमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट–१ की १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
दुर्घटनामा परी १० जना घाइते भएका छन्। घाइते हुनेमा १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेका छन्।
प्रहरीका अनुसार नौ जनाको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ भने गम्भीर घाइते १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ।
जिप सडकबाट करिब ७०० मिटर तल खसेको प्रहरीको भनाइ छ। ओभरलोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।













