गत शनिबार अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पौडेलको मृत्युपछि उनका आफन्तले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दर्ता गरेका छन्। जाहेरी दर्ता भएपछि गिरीलाई प्रहरीले हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार कात्तिक १ गते दिउँसो, काठमाडौंको अनामनगरस्थित गिरीको कार्यालयमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन्। घटनामा गिरी पनि सामान्य रूपमा घाइते भएका थिए। उपचारपछि डिस्चार्ज भएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आत्मदाह प्रयास गर्नुअघि पौडेलले आफ्नो फेसबुकमा लेखेकी थिइन्, “हाँसी रहने यो मुहारभित्रको उदासिपन हरेकले कहाँ बुझ्न सक्छन् र।” उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ।
प्रहरीले घटनाबारे प्रमाण संकलनको काम जारी रहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। पौडेलको निधनसँगै नेपाली संगीत क्षेत्रले प्रतिभाशाली गायिका गुमाएको भन्दै कलाकार र संगीतकर्मीहरूले दुःख व्यक्त गरेका छन्।













