हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गरेको छ।
कम्पनीका अनुसार हालसम्म दाबी परेका २८७ मध्ये २४५ वटा दाबी बापत कुल २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरिएको छ। यी रकमहरू अग्रिम र अन्तिम दुवै किसिमका दाबीहरूका लागि प्रदान गरिएको कम्पनीले जनाएको छ।
दाबी विभागका प्रमुख रोजराज लुइँटेलका अनुसार कम्पनीले नियामकीय प्रावधानभित्र रही बीमित ग्राहकलाई सहज र शीघ्र सेवा दिने उद्देश्यका साथ भुक्तानी प्रक्रिया अघि बढाएको हो। उनका अनुसार बाँकी दाबीहरू पनि प्राथमिकताका साथ असोज २१ गते (मंगलबार) देखि पुनः यथावत रूपमा निबटान गरिँदैछ।
हिमालयन एभरेष्टले विषम परिस्थितिमा बीमित ग्राहकलाई आर्थिक राहत र संरक्षण सुनिश्चित गर्न दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीले बीमा गराएका र अझै क्षतिपूर्तिको दाबी बाँकी रहेका ग्राहकहरूलाई आवश्यक कागजातसहित नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति कम्पनीले श्रद्धाञ्जली प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।













