२०८२ कार्तिक ८ शनिबार

मनसुनजन्य बाढीपहिरोका कारण देशभरका राजमार्ग, वैकल्पिक सडक र पुलमा व्यापक क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

मन्त्रालयले दिएको जानकारीअनुसार, असोज १८, १९ र २० गते परेको अविरल वर्षापछि देशभर बाढीपहिरोका घटनाहरू बढेका थिए। त्यसका कारण मुख्य राजमार्गदेखि वैकल्पिक सडक र बेलिब्रिजसम्म ठूला क्षति पुगेका छन्।

मन्त्रालयको प्रारम्भिक मूल्यांकनअनुसार चालु आर्थिक वर्षको मनसुनमा क्षति पुगेका संरचनाहरू पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्नेछ। गत वर्षको विपद्बाट क्षति पुगेका तर अझै पुनर्निर्माण हुन बाँकी संरचनाहरूका लागि थप १ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्नेछ।

राजमार्गहरूमा ठूलो क्षति

मनसुनका कारण सबैभन्दा धेरै क्षति राजमार्ग क्षेत्रमा देखिएको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि मात्र १ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाटमुग्लिङ राजमार्गहरूको पुनर्निर्माणमा ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

पुल र वैकल्पिक सडकमा पनि ठुलो असर

मन्त्रालयले दिएको विवरणअनुसार, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ खर्च हुनेछ। सडक सञ्चालनका लागि तत्काल आवश्यक पर्ने नयाँ बेलिब्रिजहरू निर्माणमा ८० करोड रुपैयाँ लाग्नेछ।

यस्तै, वैकल्पिक सडकहरूको पुनर्निर्माणमा १ अर्ब ५९ करोड रुपैयाँ आवश्यक पर्नेछ।

सडक सञ्चालनमा उच्च प्राथमिकता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले अवरुद्ध बनाएका सडकहरू तत्काल सञ्चालनमा ल्याउन उच्च प्राथमिकता दिइएको बताएका छन्।

उनका अनुसार, प्रभावित क्षेत्रमा यन्त्र, उपकरण र प्राविधिक जनशक्ति परिचालन गरेर काम भइरहेको छ। “सडक सञ्चालनका काम तीव्र बनाइएको छ, मन्त्रालयको तर्फबाट अनुगमन पनि नियमित रूपमा भइरहेकै छ,” मन्त्री घिसिङले जानकारी दिए।

दीर्घकालीन समाधानको खाँचो

हरेक वर्ष दोहोरिने विपद्ले मुलुकका भौतिक संरचनामा गम्भीर असर पारिरहेको सन्दर्भमा विज्ञहरू पूर्वतयारी, पूर्वानुमान प्रणाली सुदृढीकरण र पूर्वाधार निर्माणमा दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको सुझाव दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय