गत असोज १७ र १८ गतेको अविरल वर्षा, बाढी र हावाहुरीले रौतहट जिल्लाभरिका किसानलाई गम्भीर क्षति पुर्याएको छ। बाढी र डुबानका कारण हजारौं हेक्टर खेत जलमग्न भई पाक्नै लागेको धानबाली नष्ट भएको छ।
जिल्लाको पूर्वमा बागमती र पश्चिममा लालबकैया, चाँदी, झाँझ, गुजरा लगायतका नदी तथा खोलाहरूमा आएको बाढीका कारण व्यापक डुबान भएको हो। धान काट्ने संवेदनशील समयमै परेको अत्यधिक वर्षा र हावाहुरीका कारण बाली लडेका, बाला झुलेर सड्न थालेका र केही ठाउँमा भर्खर बाला लाग्ने क्रममा बाली बिग्रन थालेको किसानहरू बताउँछन्।
कटहरिया नगरपालिका–५ का किसान रामचन्द्र गोसाईं भन्छन्, “धान नै हाम्रो मुख्य खाद्यान्न हो। यो सिजनमा बाली नष्ट भएपछि अब गुजारा कसरी चलाउने भन्ने चिन्ता बढेको छ।”
करिब १६ हजार हेक्टरमा धान पूर्ण रूपमा नष्ट
जिल्ला कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार, यस वर्ष ३६ हजार हेक्टरमा धान रोपाइँ गरिएको थियो। तीमध्ये करिब १६ हजार हेक्टरमा लगाइएको धान पूर्ण रूपमा नष्ट भएको छ।
धानसँगै अन्य बालीहरूमा पनि क्षति पुगेको छ। कुर्मीका अनुसार १.३१% हेक्टरमा उखु, ४ सय हेक्टरमा तरकारी, २ सय हेक्टरमा केरा, २.३२% हेक्टरमा फलफूल खेती, प्रभावित भएको बताइएको छ।
रौतहटमा कुल ५१ हजार हेक्टर खेतीयोग्य जमिन रहे पनि यस वर्ष ३६ हजार हेक्टरमा मात्र धान खेती गरिएको थियो। अहिले करिब आधा बाली नष्ट भएपछि जिल्लाको धान उत्पादनमा उल्लेख्य गिरावट आउने निश्चित भएको छ।
जलवायु परिवर्तनको असर, मौसम चक्र अस्थिर
कृषि विज्ञहरूका अनुसार, यो अवस्था जलवायु परिवर्तनकै असर हो। रोपाइँको समयमा खडेरी र भित्र्याउने समयमा अत्यधिक वर्षा हुनु मौसम चक्रको अस्थिरता देखाउने संकेत हो। यस्तो असन्तुलनले वर्षेनि किसानलाई आर्थिक रूपमा कमजोर बनाइरहेको छ।
तर, कृषकहरूको गुनासो छ । यति ठूलो संकटका बीचमा पनि केन्द्र, प्रदेश र स्थानीय सरकार मौन छन्। क्षति मूल्यांकन, राहत वा क्षतिपूर्तिको कुनै प्रक्रिया नथालिँदा किसानको मनोबल थप खस्किएको छ।
रौतहटजस्ता जिल्लामा धान खेती अझै पनि वर्षामा निर्भर छ। सिँचाइको अभाव, ढल निकासको कमी र पूर्वसूचना प्रणालीको न्यूनताका कारण, यस्तो प्राकृतिक विपद् आउँदा क्षतिको असर ठूलो हुने गरेको हो।













