ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्। हालै केही सामाजिक सञ्जाल र सञ्चारमाध्यममा मन्त्री घिसिङलाई “उज्यालो नेपाल पार्टी” सँग जोडेर पार्टीको अध्यक्ष बन्न लागिएको भन्दै समाचारहरू प्रकाशन भएपछि उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
मन्त्री घिसिङले विज्ञप्तिमार्फत भनेका छन्, “सूचना र समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागिता समेत नरहेको स्पष्ट पार्दछु।”
उनका अनुसार, आफू सँग कुनै सल्लाह र छलफल नगरी दूषित मनसायका साथ असत्य र तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको भएकाले उनले सो समाचारको खण्डन गर्दै सबैलाई त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन्।
मन्त्री घिसिङले हाल सरकारका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधारमा ध्यान केन्द्रित गरिरहेको बताउँदै, राजनीतिक चर्चा–प्रचारमा आफू संलग्न नरहेको पुनः दोहोर्याएका छन्।













