२०८२ कार्तिक ८ शनिबार

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट आज (बिहीबार) देखि अनिवार्य अवकाशमा गएका छन्। राष्ट्र बैंक कर्मचारी नियमावलीअनुसार कार्यकारी निर्देशक बनेको सात वर्ष पूरा भएपछि अवकाश पाउने व्यवस्था रहेको छ। सोही अनुसार, भट्टको कार्यकाल पूरा भएपछि उनलाई अनिवार्य अवकाश दिइएको हो।

राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि, ५८ वर्ष उमेर, उच्च निर्देशक तहमा १२ वर्ष र कार्यकारी निर्देशक तहमा ७ वर्ष पूरा भएपछि अवकाश पाउने प्रावधान छ। डा. भट्टले २०५७ सालमा सहायक निर्देशकको रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेका थिए। उनी २०७५ साल कात्तिकमा कार्यकारी निर्देशक बनेका थिए।

आफ्नो सेवाकालमा उनले आर्थिक अनुसन्धान विभागमा सबैभन्दा लामो समय जिम्मेवारी सम्हालेका थिए। साथै, उनले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभागमा पनि काम गरेका थिए। गत चैतमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारी अनिवार्य अवकाशमा गएपछि, डा. भट्ट पनि गभर्नरको प्रतिस्पर्धामा रहेका थिए। सत्तारूढ दलबीचको सहमति नजुट्दा कांग्रेसको रोजाइमा रहेका उनले गभर्नर बन्न भने सकेनन्।

त्यस क्रममा तत्कालीन कायम मुकायम गभर्नर निलम ढुङ्गानाले राजीनामा दिए पनि स्वीकृत नभएकाले भट्टको उम्मेदवारी अघि बढ्न सकेको थिएन। नयाँ गभर्नर विश्व पौडेलको नियुक्ति पछि, डा. भट्ट हालसम्म गभर्नर कार्यालयका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। उनको अवकाशसँगै राष्ट्र बैंकमा शीर्ष व्यवस्थापकीय संरचनामा पुनः नयाँ नियुक्ति प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय