चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रु १२ अर्ब २८ करोड ३० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन्।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार यो अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु १ अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो।
गत आवको पहिलो त्रैमासिकमा यो नाकाबाट रु १० अर्ब ८४ करोड ३ लाख बराबरका सामान आयात भएका थिए।
यद्यपि, चालु आवको पहिलो त्रैमासिकमा यो नाकाबाट हुने निर्यात घटेको छ। सो अवधिमा रु ४ अर्ब ८० करोड ३९ लाख बराबरका सामान विभिन्न मुलुकमा निर्यात भएका छन्। गत आवको सोही अवधिमा रु ६ अर्ब ८ करोड ६९ लाख बराबरको वस्तु निर्यात भएको थियो, जसअनुसार निर्यात २१ दशमलव ०८ प्रतिशतले घटेको कार्यालयले जनाएको छ।
हुमागाईंका अनुसार काँकरभिट्टाबाट निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भिनियर सिट र मोलासिस रहेका छन्। त्यस्तै, आयात हुने मुख्य वस्तुहरूमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराका कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडा रहेका छन्।
कार्यालयका तथ्यांकअनुसार चालु आवको पहिलो त्रैमासिकमा आयात–निर्यातबाट रु ४ अर्ब १५ करोड २० लाख ८ हजार राजस्व संकलन भएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५ दशमलव ६९ प्रतिशत (रु ५६ करोड २९ लाख ९७ हजार) ले बढी भएको कार्यालयले जनाएको छ।













