२०८३, आश्विन २७ गते

इन्धन महँगिएसँगै आन्तरिक हवाई उडान महँगियो, नयाँ भाडादर कति ?

मंगलवार , श्रावण १९, २०८३

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्यवृद्धिसँगै आन्तरिक उडानको भाडादर बढाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि प्राधिकरणले साउन १९ गते (अगस्ट ४, २०२६) देखि लागू हुने गरी नयाँ हवाई भाडादर सार्वजनिक गरेको हो।

नेपाल आयल निगमले अगस्ट २ देखि आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुर्‍याएपछि प्राधिकरणले इन्धन शुल्क पुनः गणना गर्दै अधिकांश गन्तव्यको भाडा बढाएको जनाएको छ। इन्धनको मूल्यमा ८.७३ प्रतिशत वृद्धि भएपछि मुख्य हवाई मार्ग (ट्रंक सेक्टर) मा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ निर्धारण गरिएको छ।

नयाँ व्यवस्थाअनुसार काठमाडौं–माउन्टेन उडानको भाडा ७,८६० रुपैयाँबाट बढेर ८,५४५ रुपैयाँ पुगेको छ। काठमाडौं–भद्रपुर रुटको भाडा ६,८७५ रुपैयाँबाट ७,४८० रुपैयाँ, काठमाडौं–विराटनगर ५,५०० रुपैयाँबाट ५,९८० रुपैयाँ, काठमाडौं–जनकपुर २,९४५ रुपैयाँबाट ३,२०५ रुपैयाँ तथा काठमाडौं–पोखरा ३,६३५ रुपैयाँबाट ३,९५० रुपैयाँ पुगेको छ।

त्यसैगरी, काठमाडौं–भैरहवा रुटको भाडा ४,७१५ रुपैयाँबाट ५,१२५ रुपैयाँ, काठमाडौं–नेपालगन्ज ७,४६५ रुपैयाँबाट ८,१२० रुपैयाँ, काठमाडौं–सुर्खेत ७,९१५ रुपैयाँबाट ८,६०५ रुपैयाँ तथा काठमाडौं–धनगढी १०,१२० रुपैयाँबाट ११ हजार रुपैयाँ कायम गरिएको छ।

प्राधिकरणले दुर्गम तथा छोटो दूरीका एसटीओएल (STOL) उडानमा पनि नयाँ इन्धन शुल्क लागू गरेको छ। यसअन्तर्गत प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ कायम गरिएको छ। गणनाका लागि प्रतिलिटर २४९ रुपैयाँ इन्धन मूल्य, प्रतिउडान १५ यात्रु र प्रतिघण्टा ३४२ लिटर इन्धन खपतलाई आधार बनाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हवाई इन्धनको मूल्य बढेसँगै सञ्चालन लागत वृद्धि भएकाले नयाँ भाडादर समायोजन गरिएको हो। नयाँ दर मंगलबारदेखि देशभरका सबै आन्तरिक उडानमा लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!