नेपालमा उखुको उत्पादकत्व बढाउँदै चिनी उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ। उच्च उत्पादन क्षमता, चिनीको मात्रा बढी र रोग प्रतिरोधी विशेषता भएका यी जातको परीक्षणपछि किसानसम्म बिउ पुर्याउने तयारी गरिएको छ।
सोमबार आयोजित एक औपचारिक कार्यक्रममा काठमाडौँस्थित भारतीय दूतावासकी प्रथम सचिव निशाले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई उन्नत जातका उखुको बिउ हस्तान्तरण गरेकी हुन्।
नार्कअन्तर्गत बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम र भारतीय कृषि अनुसन्धान परिषद्अन्तर्गत भारतीय उखु अनुसन्धान संस्थान (आईसीएआर–आईएसआरआई), लखनउको सहकार्यमा यी जात नेपाल ल्याइएको हो।
भारतबाट ल्याइएका चारवटै जातमा उखुमा लाग्ने विनाशकारी ‘रातो सडन’ (रेड रट) रोग प्रतिरोध गर्ने क्षमता रहेको बताइएको छ। साथै, यी जातमा चिनीको मात्रा (सुक्रोज) उच्च रहेको र फरक–फरक समयमा परिपक्व हुने विशेषता छ।
हस्तान्तरण गरिएका जातमध्ये ‘सिओएलके १६२०२’ को उत्पादन क्षमता प्रतिहेक्टर ९३.२ टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत रहेको छ। यो जात मध्य–ढिलो अवधिमा परिपक्व हुन्छ। त्यस्तै, ‘सिओएलके १६४७०’ को उत्पादन क्षमता प्रतिहेक्टर ८२.५ टन र सुक्रोजको मात्रा १७.४ प्रतिशत छ। यो जात पनि मध्य–ढिलो अवधिमा परिपक्व हुने बताइएको छ।
यसैगरी, चाँडो परिपक्व हुने ‘सिओएस १७२३१’ को उत्पादन क्षमता प्रतिहेक्टर ९१.५ टन र सुक्रोजको मात्रा १७.७ प्रतिशत छ। अर्को जात ‘सिओएस १८२३१’ को उत्पादन क्षमता प्रतिहेक्टर ९२.५ टन र सुक्रोजको मात्रा १८ प्रतिशत रहेको छ।
हाल नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। यसबाट वार्षिक करिब २७ लाख टन उखु उत्पादन हुने गरेको छ। उत्पादित उखुलाई सञ्चालनमा रहेका करिब एक दर्जन चिनी मिलमार्फत प्रशोधन गरी चिनी उत्पादन गरिन्छ।
तर, नेपालमा उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० टन मात्रै छ। छिमेकी मुलुक भारतमा औसत उत्पादकत्व प्रतिहेक्टर ८२ टन रहेकाले नेपालको उत्पादन क्षमता तुलनात्मक रूपमा कम देखिएको छ। कम उत्पादकत्वका कारण नेपालले आफ्नो कुल चिनी खपतको करिब ३० प्रतिशत माग पूर्ति गर्न वार्षिक रूपमा चिनी आयात गर्नुपर्ने अवस्था छ।
नेपालको प्राकृतिक हावापानीमा उखुको प्रजनन सम्भव नभएकाले उन्नत जात विकासका लागि विशेष वातावरण नियन्त्रित संरचना ‘फाइटोट्रोन’ आवश्यक पर्ने नार्कले जनाएको छ। यही कारण नार्कले भारतीय उखु अनुसन्धान संस्थानसँग उन्नत जात उपलब्ध गराउन अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चार जात नेपाल ल्याइएको हो।
अब राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले यी जातलाई विभिन्न अनुसन्धान केन्द्रमा दुई वर्षसम्म परीक्षण गर्ने, बिउ उत्पादन गर्ने र तुलनात्मक अध्ययन गर्नेछ। परीक्षणबाट उपयुक्त नतिजा प्राप्त भएपछि जातको औपचारिक उन्मोचन तथा दर्ता गरिनेछ। त्यसपछि बिउ वृद्धि गरी चिनी मिलहरूसँगको समन्वयमा किसानसम्म पुर्याइने नार्कका कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।
यी उन्नत जातको सफल परीक्षण र विस्तार हुन सके उखुको उत्पादकत्व तथा चिनीको उत्पादन बढ्ने, किसानको आयआर्जनमा सुधार आउने र चिनी आयातमा निर्भरता घट्ने अपेक्षा गरिएको छ। नार्कले दीर्घकालीन रूपमा उखु उत्पादन वृद्धि गरी नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस