२०८३, आश्विन ५ गते

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५१ लाख सहयोग

बिहिवार , भाद्र १८, २०८३

 सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि रु. ५१ लाख सहयोग गर्ने निर्णय गरेको छ।

कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत प्रदान गरिने उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलब बराबरको रु. ११ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामूहिक रूपमा योगदान गर्ने निर्णय गरेका छन्।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले सहयोगलाई मानवीय सहानुभूति र सामाजिक उत्तरदायित्वको एक सानो प्रयासका रूपमा लिएको जनाएको छ।

कम्पनीले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रमा आइपर्ने विभिन्न प्राकृतिक विपद्, संकट तथा महामारीका समयमा अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको जनाएको छ। यसपटकको सहयोग पनि बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले बाढी प्रभावित परिवारको तत्काल सुरक्षित उद्धार तथा घरबारविहीन परिवारको यथाशीघ्र पुनःस्थापना गर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ।

साथै, बाढी तथा विपद्का क्रममा ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!