सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन्।
करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा ड्रागन फ्रुट खेती सुरु गरेका बेलवासेले हालसम्म तीन पटक उत्पादन लिइसकेका छन्। नयाँ प्रविधि र खेती गर्ने तरिकाबारे सामाजिक सञ्जालमार्फत जानकारी लिएपछि आफूले ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भएको उनले बताए।
बेलवासेका अनुसार उनले रुपन्देहीको रानीबगियाबाट ६२८ वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरेका थिए। ती बिरुवा १५७ वटा पोलमा चार–चार वटाका दरले रोपेर खेती सुरु गरिएको हो।
परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती सुरु गरेको बेलवासे बताउँछन्। सामाजिक सञ्जालबाट प्राप्त कृषि प्रविधिसम्बन्धी जानकारीले खेती व्यवस्थापन तथा उत्पादनमा समेत सहयोग पुगेको उनको भनाइ छ।
डेढ वर्षको अवधिमै तीन पटक उत्पादन लिन सफल भएपछि बेलवासे ड्रागन फ्रुट खेतीप्रति थप उत्साहित भएका छन्। उनले आगामी दिनमा खेती विस्तार गर्दै उत्पादन र आम्दानी बढाउने योजना बनाएका छन्।
प्रतिक्रिया दिनुहोस