अस्ट्रेलियाले आप्रवासन प्रणालीमा थप कडाइ गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीले परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्थामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। नयाँ व्यवस्थाले एउटै वा तल्लो तहको अध्ययनमा पटक–पटक भिसा परिवर्तन गरेर अस्ट्रेलियामा बसिरहने प्रवृत्ति अर्थात् ‘भिसा हपिङ’लाई समेत नियन्त्रण गर्नेछ।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहीबार क्यानबेरास्थित नेसनल प्रेस क्लबमा घोषणा गरेको नयाँ आप्रवासन नीतिअन्तर्गत अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो विद्यार्थी भिसामा परिवारका सदस्यलाई जोड्न पाउने छैनन्। यद्यपि, केही अपवाद भने रहनेछन्।
सरकारले सन् २०२७/२८ सम्ममा शुद्ध वैदेशिक आप्रवासन (नेट ओभरसिज माइग्रेसन) २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार मार्चसम्मको एक वर्षमा शुद्ध वैदेशिक आप्रवासन २ लाख ९२ हजार १०० रहेको छ।
अधिकांश विद्यार्थीले परिवार लैजान नपाउने
नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी तथा स्नातकपछिको भिसामा रहेका व्यक्तिले सामान्यतया आफ्ना परिवारका सदस्यलाई अस्ट्रेलिया लैजान पाउने छैनन्।
तर पीएचडीजस्ता निश्चित अध्ययन कार्यक्रम तथा प्रशान्त क्षेत्र र दक्षिण–पूर्वी एसियाका केही देशका नागरिकका लागि विशेष व्यवस्था रहनेछ। यसअघि नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थी तथा परिवारलाई भने नयाँ नियमले अलग नगर्ने सरकारले स्पष्ट पारेको छ।
यसको अर्थ अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि समेत परिवारसँगै लैजाने योजनामा नयाँ नियमको प्रभाव पर्न सक्नेछ। तर कुन–कुन देश र अध्ययन कार्यक्रम अपवादमा पर्ने भन्ने विषयमा लागू हुने विस्तृत नियम हेर्नुपर्ने हुन्छ।
एउटै वा तल्लो तहको अध्ययनमा भिसा परिवर्तन गर्न कठिन
सरकारले विद्यार्थीको ‘भिसा हपिङ’ नियन्त्रण गर्न अध्ययन तह परिवर्तनसम्बन्धी नियम पनि कडा बनाउने भएको छ। नयाँ व्यवस्थाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई उच्च तहमा लैजाँदा मात्र नयाँ अध्ययनका लागि भिसा परिवर्तन गर्न पाउनेछन्। उदाहरणका लागि, स्नातक तह पूरा गरेपछि स्नातकोत्तर तहमा अध्ययन गर्न जाने व्यवस्था कायम रहनेछ।
तर समान वा तल्लो तहको अर्को पाठ्यक्रममा पटक–पटक सर्दै अस्ट्रेलियामा बसाइ लम्ब्याउने प्रक्रियालाई नियन्त्रण गरिनेछ। विद्यार्थीले अर्को पाठ्यक्रममा जान चाहेको अवस्थामा नयाँ भिसाका लागि आवेदन दिनुपर्ने व्यवस्था पनि ल्याइने भएको छ।
अस्ट्रेलिया सरकारले वैध भिसा नभएका व्यक्तिलाई देश छाड्न बाध्य पार्ने प्रक्रिया पनि कडा बनाउने जनाएको छ। गृहमन्त्री बर्कका अनुसार सरकारले आप्रवासन प्रणालीको मागमा आधारित हिस्सालाई थप नियन्त्रणमा राख्ने र भिसाको म्याद सकिएपछि पनि बसिरहने प्रवृत्ति नियन्त्रण गर्ने नीति अघि सारेको छ।
यससँगै भविष्यमा जारी हुने सबै आगन्तुक भिसामा ‘नो फर्दर स्टे’सम्बन्धी प्रावधान विस्तार गर्ने घोषणा पनि गरिएको छ। यो प्रावधान हाल अस्ट्रेलियामा रहेका व्यक्तिमा भने लागू नहुने बताइएको छ।
नेपाली विद्यार्थीका लागि के अर्थ?
अस्ट्रेलिया नेपाली विद्यार्थीको प्रमुख विदेशी अध्ययन गन्तव्य भएकाले नयाँ नियमले विशेषगरी परिवारसहित अध्ययन गर्न जाने योजना बनाएका विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ। त्यस्तै, एउटा अध्ययन तह पूरा गरेपछि समान वा तल्लो तहको अर्को पाठ्यक्रममा प्रवेश लिएर भिसा अवधि लम्ब्याउने योजना बनाउने विद्यार्थीका लागि पनि नयाँ व्यवस्था महत्वपूर्ण हुनेछ।
अस्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीले भने आफ्नो पाठ्यक्रम, भिसाको प्रकार र परिवारका सदस्यसम्बन्धी लागू हुने अपवाद तथा नयाँ भिसा सर्तहरू अध्ययन गरी मात्र योजना बनाउनुपर्ने देखिन्छ। सरकारले घोषणा गरेका सबै परिवर्तन कार्यान्वयनका लागि सम्बन्धित नियम तथा भिसा सर्तहरूमा गरिने औपचारिक परिवर्तनसमेत महत्वपूर्ण हुनेछन्।
प्रतिक्रिया दिनुहोस