२०८३, आश्विन २२ गते

समृद्ध नेपालका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ: रामचन्द्र पौडेल

बिहिवार , आश्विन २२, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने भन्दै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्प आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले समृद्धिको सङ्कल्पलाई व्यवहारमा उतार्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्ने बताए । उनले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा गरे ।

नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

राष्ट्रपति पौडेलले सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । त्यस्तै, निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने उनले बताए ।

जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढङ्गले उपयोग गर्नुपर्ने राष्ट्रपति पौडेलले उल्लेख गरे ।

देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमको सम्भावना सिर्जना गर्नु साझा दायित्व भएको बताउँदै उनले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको युगमा महासङ्घले नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्‍याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!