नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ भदौ मसान्तसम्मको अन्तरिम वासलात विवरणअनुसार बैंकको कुल सम्पत्ति ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्म राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो । त्यसको तुलनामा भदौ मसान्तसम्म राष्ट्र बैंकको सम्पत्ति करिब १ खर्ब ६९ अर्ब रुपैयाँले बढेको छ ।
राष्ट्र बैंकको कुल सम्पत्तिमा विदेशी मुद्रा सम्पत्तिको हिस्सा सबैभन्दा ठूलो छ । भदौ मसान्तसम्म विदेशी मुद्रा सम्पत्ति ३८ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये वैदेशिक प्रतिभूतिमा २७ खर्ब ४३ अर्ब ३३ करोड रुपैयाँ लगानी रहेको छ ।
त्यस्तै, विदेशी बैंकमा मुद्दती निक्षेप ६ खर्ब ३९ अर्ब ७४ करोड, गोल्ड सर्टिफिकेट्समा २ अर्ब ५३ करोड ९७ लाख, नगद तथा बैंक मौज्दात २ खर्ब ४४ अर्ब ३० करोड र आईएमएफसम्बन्धी सम्पत्ति १८ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
भदौ मसान्तसम्म राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्ति १ खर्ब ४४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । यसअन्तर्गत सुन तथा चाँदी सम्पत्ति ९१ अर्ब ६७ करोड, सरकारी ऋणपत्रमा ११ अर्ब ६४ करोड तथा डिबेन्चर र मुद्दती निक्षेपमा १२ अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ ।
दायित्वतर्फ विदेशी मुद्रा दायित्व ५२ अर्ब ३४ करोड रुपैयाँ रहेको छ भने स्थानीय मुद्रा दायित्व २८ खर्ब ७६ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
स्थानीय मुद्रा दायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थासँगको दायित्व १३ खर्ब ६५ अर्ब १० करोड, चलनचल्तीमा रहेको नोट तथा मुद्रा ७ खर्ब ९४ अर्ब, बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ खर्ब ४६ अर्ब ७ करोड र नेपाल सरकारको निक्षेप ३ खर्ब १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको जगेडा कोष अघिल्लो असार मसान्तको १० खर्ब ८५ अर्ब ७३ करोड रुपैयाँबाट बढेर भदौ मसान्तमा ११ खर्ब १० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस