काठमाडौं उपत्यकाका उपभोक्ताले आगामी आइतबारदेखि जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्।
चाडपर्वका समयमा फरक–फरक ब्रान्डका सिलिन्डर साट्न नपाउँदा उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले यस्तो व्यवस्था गरेको हो।
नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म उपत्यकाका ६ वटा निश्चित स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने संघले जनाएको छ।
संघका अनुसार ती केन्द्रबाट प्रत्येक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा लिन सकिनेछ। यस व्यवस्थाले चाडपर्वका बेला उपभोक्ताले आफ्नो ब्रान्डको सिलिन्डर खोज्दै भौँतारिनुपर्ने समस्या कम गर्ने अपेक्षा गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिमा भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको उल्लेख छ। संघका अनुसार गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर ग्यास बिक्री वितरण भएको थियो।
ग्यासको आपूर्ति सहज रहे पनि चाडपर्वका बेला खाली सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न विशेष व्यवस्था गरिएको संघले जनाएको छ।
सिलिन्डर साटिने र बिक्री हुने स्थानहरू:
१. सिफलचौर, काठमाडौं (ग्यास एन्ड अक्सिजन ट्रेडर्स)मा उपलब्ध ब्रान्ड : एभरेस्ट र सुगम
२. पेप्सीकोला, काठमाडौंमा उपलब्ध ब्रान्ड : सगर ग्यास
३. बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि, काठमाडौंमा उपलब्ध ब्रान्ड : नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी
४. सुकेधारा, काठमाडौंमा उपलब्ध ब्रान्ड : बाबा र श्री ग्यास
५. कलंकी, काठमाडौंमा उपलब्ध ब्रान्ड : साईबाबा र श्रीकृष्ण ग्यास
६. हरिसिद्धि, ललितपुरमा उपलब्ध ब्रान्ड : श्रीराम ग्यास
प्रतिक्रिया दिनुहोस