गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले घर, झोलुङ्गे पुल, सडक पुल र जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीले गोरखा र धादिङका विभिन्न बस्तीमा लेदो पसेर जनजीवन प्रभावित बनाएको छ भने विद्युत् तथा दूरसञ्चारका संरचनासमेत क्षतिग्रस्त भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार असोज २५ गते बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोप्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदी थुनिएको थियो। नदी थुनिएर खुलेपछि लेदोसहितको ठूलो बाढी आएको उनले बताएका छन्।
घर र पुल बगायो, बस्ती जोखिममा
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगेको र अर्को घरमा बाढी पसेको प्राधिकरणले जनाएको छ। धार्चे गाउँपालिका–५ मा माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको आयोजना क्षेत्र र आसपासका सात–आठवटा घर बगेका छन्। आयोजनामा कार्यरत १२ कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ भने जलविद्युत् आयोजनाका भौतिक संरचनामा क्षति पुगेको छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बाढीले बगाएको छ। तीन भागमा रहेको उक्त पुलको एक भागमा क्षति पुगेको कार्यकारी प्रमुख उप्रेतीले बताएका छन्। त्यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ घर जोखिममा परेको जनाइएको छ।
जलविद्युत् आयोजना र विद्युत् संरचनामा क्षति
बाढीले बूढीगण्डकी जलविद्युत् आयोजना (३४१ मेगावाट) को मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले जानकारी दिएका छन्। टाइम्स ऊर्जा प्रालिको निर्माणाधीन आयोजना र दोभान खोला जलविद्युत् आयोजना (२४.५ मेगावाट) को क्याम्प क्षेत्रमा पनि क्षति पुगेको छ। दोभान खोला आयोजनाको क्षेत्रमा रहेको बेलिब्रिजसमेत बाढीले बगाएको छ।
बाढीका कारण दुईवटा टेलिफोन टावर र करिब ५० वटा बिजुलीका पोलमा क्षति पुगेको विवरण प्राप्त भएको छ। यी संरचनामा भएको क्षतिले प्रभावित क्षेत्रमा सञ्चार तथा विद्युत् सेवामा समेत असर पार्न सक्ने देखिएको छ।
बूढीगण्डकीको बाढीले गोरखासँगै धादिङका बस्तीमा पनि असर पारेको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–विशालनगरका करिब १०० घरमा लेदो पसेको प्राधिकरणले जनाएको छ। बाढीले विभिन्न स्थानमा घर, पुल, जलविद्युत् आयोजनाका संरचना र अन्य पूर्वाधारमा क्षति पुर्याए पनि समग्र क्षतिको पूर्ण विवरण आउन बाँकी छ। प्रभावित बस्ती, जोखिममा रहेका घरपरिवार र भौतिक संरचनाको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस