बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। घटस्थापनादेखि असोज २९ गते बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका लागि उपत्यकामा बसोबास गर्दै आएका मानिस परिवार र आफन्तसँग दशैं मनाउन घर फर्किन थालेपछि उपत्यकाका विभिन्न नाकामा सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन्।
दशैं मनाउन यात्रुहरू फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायत नाका हुँदै बाहिरिएका छन्।
सडक अवरुद्ध हुँदा यातायात व्यवस्थापनमा चुनौती
घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई सवारीसाधन व्यवस्थापन गर्न कठिनाइ भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडकको अवस्थाका कारण यातायात सञ्चालन प्रभावित भएको बताए।
उनका अनुसार दशैंका बेला विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिएका कारण सवारीसाधन समयमा गन्तव्यमा पुग्न र काठमाडौँ फर्किन समस्या भइरहेको छ। यसले उपलब्ध सवारीसाधनलाई व्यवस्थित रूपमा परिचालन गर्न कठिन बनाएको छ।
असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर आवागमन अवरुद्ध भएको थियो। त्यस क्रममा धेरै सवारीसाधन काठमाडौँमै रोकिँदा यातायात व्यवस्थापनमा थप समस्या भएको आचार्यले बताए।
अग्रिम टिकट बुकिङ गर्ने यात्रु एक लाख ५३ हजार नाघे
दशैंका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते संयुक्त रूपमा ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट लिएका हुन्।
यात्रुको चाप बढिरहेका बेला सडकको अवस्थाले यात्रा अवधि र सवारीसाधनको व्यवस्थापनमा प्रभाव पारिरहेको छ। त्यसैले यातायात व्यवसायीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेका छन्।
दशैंमा परिवार, आफन्त र समुदायसँग भेटघाट गर्ने परम्पराका कारण रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्ने मानिसहरू हरेक वर्ष घर फर्किने गर्छन्। यस वर्ष पनि चाडपर्व नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको छ।
प्रतिक्रिया दिनुहोस