बडादसैँको सातौँ दिन आज शनिबार घरघरमा फूलपाती भित्र्याइँदै छ । नवरात्रको यस दिन नौ दुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दसैँ घर तथा पूजा कोठामा फूलपाती भित्र्याएर धार्मिक विधिअनुसार पूजा गर्ने वैदिक सनातन परम्परा छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गरिन्छ । धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने शक्तिकी प्रतीक भएकाले देवीको यस स्वरूपलाई कालरात्रि भनिएको हो । विभिन्न पुराणमा कालरात्रि देवीलाई कृष्ण वर्ण र भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजा सातौँ दिनसम्म आइपुगेको छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ ।
गोरखाबाट फूलपाती काठमाडौं पठाइयो
बडादसैँको सातौँ दिनको विशेष आकर्षण फूलपाती भित्र्याउने परम्परा हो । यसै अवसरमा गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली शनिबार बिहान काठमाडौंस्थित हनुमानढोका दरबारका लागि पठाइएको छ ।
गोरखा दरबारमा बिहान ९ बजे शुभसाइतमा विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो । गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौं पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिएका छन् ।
गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ । ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाबाट राजकाज सञ्चालन गर्न थालेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा सुरु भएको हो । यसले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा शक्तिपीठमा भक्तजनको भीड
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा देवीको पूजा आराधना तथा दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ । धार्मिक विश्वासअनुसार नौ दिनसम्म दुर्गा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।
नवरात्रमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष पूजा आराधना गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा छ ।
यसरी धार्मिक अनुष्ठान, पारिवारिक भेटघाट, टीका–जमरा र सांस्कृतिक परम्परासहित नेपालीले १५ दिनसम्म बडादसैँ मनाउँछन् ।
प्रतिक्रिया दिनुहोस