थाइल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
टर्डथाइ क्रिकेट मैदानमा मंगलबार आयोजक थाइल्यान्डको ‘ए’ टोलीलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्ड ‘ए’ ले १५.४ ओभरमा सबै विकेट गुमाएर मात्र १९ रन बनाएको थियो। थाइल्यान्डका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। थान्चानोक फुप्लुकले बनाएको ४ रन नै टोलीका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।
थाइल्यान्डका पाँच खेलाडी शून्य रनमा आउट भएका थिए भने ६ खेलाडीले मात्रै रन बनाउन सके। टोलीले बनाएको कुल १९ रनमध्ये ब्याटरले १२ रन बनाउँदा अतिरिक्तबाट ७ रन प्राप्त भएको थियो।नेपालका लागि आरती विडारीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइन्। त्यस्तै, सरिता मगर र इन्दु बर्माले समान २–२ विकेट हात पारे।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३.३ ओभरमै एक विकेट गुमाएर २० रनको लक्ष्य पूरा गर्यो। नेपालका लागि ममता चौधरीले ८ रन बनाइन् भने नेरी थापा ५ र डोली भट्ट २ रनमा अविजित रहे।
समूह चरणमा नेपालले शतप्रतिशत जित निकाल्दै चारवटै खेल जितेको छ। यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो।
चार खेलमा अपराजित रहँदै समूह विजेता बनेको नेपाल अब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस