आन्द्रे रसेलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।
मंगलबार सम्पन्न रोमाञ्चक खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो।
विराटनगरको जितमा नायक बनेका रसेलले ब्याटिङमा अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिए। उनले खेलको अन्तिम बलमा जनकपुरका सेफ हसनलाई आउट गर्दै विराटनगरको जित सुनिश्चित गरे।
जनकपुरका लागि बंगलादेशी खेलाडी सेफ हसनले सर्वाधिक ७१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, विशाल सुस्लिङले ४३ तथा जिमी निशमले २९ रन जोडे।
जनकपुरले ३० रन बनाउँदा सुरुवाती तीन विकेट गुमाएको थियो। त्यसपछि सेफ हसन र विशाल सुस्लिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काएका थिए।
यस संस्करणमा पहिलो खेल खेलेका विशालले ३० बलमा २ चौका र ३ छक्काको मद्दतमा ४३ रन बनाए। विशाल आउट भएपछि जिमी निशमले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३ चौका र २ छक्कासहित २९ रन जोडे। पाँचौँ विकेटका लागि हसन र निशमबीच ५६ रनको साझेदारी भएको थियो।
तर, रुपेश सिंहले १९औँ ओभरको अन्तिम बलमा निशमलाई आउट गरेपछि खेलले नयाँ मोड लिएको थियो। अन्तिमसम्म क्रिजमा रहेका हसनलाई रसेलले अन्तिम बलमा आउट गरेपछि जनकपुरको जितको सम्भावना समाप्त भयो।
बलिङतर्फ विराटनगरका रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६, लोकेश बमले ५० तथा रसेलले अविजित ५२ रन बनाए। इमरानले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दा लोकेशले ४० बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर शेहान जयसूर्या २ रनमा आउट भएपछि क्रिजमा आएका इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गरेका थिए। यस सिजनको यो पहिलो शतकीय साझेदारी हो।
त्यस्तै, आक्रामक ब्याटिङ गरेका रसेलले २९ बलमा २ चौका र ५ छक्काको मद्दतमा अविजित ५२ रन जोडे। शुभम रञ्जाने ७ रनमा अविजित रहे।जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए।
यस जितसँगै विराटनगरले लगातार दोस्रो जित निकालेको छ। सुरुवाती दुई खेलमा पराजित भएको विराटनगरले पछिल्ला दुई खेल जित्दै चार खेलबाट ४ अंक जोडेको छ। चार खेल खेलेको जनकपुरको पनि ४ अंक रहेको छ।
प्रतिक्रिया दिनुहोस